सूचना प्रविधिमा फड्को मार्दै नेपाल टेलिकम,पातारासीमा टुजी र फोरजी सेवा बिस्तार
काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा एकपछि अर्को सफलता हाँसिल गर्दै गएको नेपाल टेलिकमले जुम्लामा समेत टु जी र फोर जी सेवाको बिस्तार गर्न सफल भएको छ । टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा बिस्तार गरेको हो ।
पातारासी गाउँपालिका वडा नं २ मा नयाँ साइट निर्माण गरी यही मङ्सिर १६ गते देखि सेवा सञ्चालन गरिएको जनाइएको छ। जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं १, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने वासिन्दाहरु पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् । दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरुको मागलाई लक्षित गरी टु जी तथा फोर जी सेवाको बिस्तार गरिएको हो ।
यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस क्षेत्रका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीको रहेको प्रवक्ता हरि ढकालले प्रेस विज्ञप्तीमार्फत जानकारी दिए ।