धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता सम्पन्न, को बन्ला नयाँ अध्यक्ष ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति प्रक्रिया सम्पन्न भएको छ । आइतबार सिंहदरबारमा दुई जनाको अन्तर्वार्ता सकिएसँगै अध्यक्ष सिफारिसका प्रक्रिया सकिएको हो ।
लामो समयको रस्साकसी पछि सर्ट लिस्टमा परेका ४ जनको अन्तर्वार्ता सम्मन्न भएसँगै अध्यक्ष नियुक्तिले पूर्णता पाउने आशा बढेको छ । आजको अन्तर्वार्तामा बोर्डका वर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । सर्टलिस्टमा परेका दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठले यस अघि नै आफ्नो अन्तर्वार्ता र कार्ययोजना प्रस्तुत गरिसकेका छन् । अब यी चार जनामध्ये अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने छ । सरकारले तीमध्ये एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने छ ।
सर्ट लिस्टमा परेका बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अन्तर्वार्तामा अनुपस्थित रहे । धितोपत्र बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि रिक्त छ । तत्कालिन अध्यक्ष रमेश हमाल आप्नो कार्यकाल सकेर बोर्डबाट बिदा भएपछि बोर्ड नेतृत्व बिहीन रहेको छ ।