
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने

काठमाडौं। नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक सिरिजबारे जानकारी गराएको हो।
सिरिज डिसेम्बर ९ देखि १३ डिसेम्बरसम्म काठमाडौंस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। उक्त शृंखला आयोजना गर्ने निर्णय स्कटल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सम्मेलनका क्रममा भएको हो।
सम्मेलनमा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव देवजीत सैकियाबीच भएको बैठकपछि शृंखलाको टुंगो लागेको क्यानले जनाएको छ। भारत ‘ए’ विरुद्धको यो सिरिज नेपाली क्रिकेटका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

