
मुस्ताङ भन्सारबाट दुई महिनामा आयात भयो ७ अर्ब ३६ करोडको सामान

काठमाडौं । मुस्ताङ भन्सार कार्यालयबाट दुई महिनाको अवधिमा सात अर्ब ३६ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको मालवस्तु चीनबाट आयात गरिएको छ । रसुवागढी नाका र तातोपानी नाका गत असार र भदौ महिनामा बाढी पहिरोका कारण अवरुद्ध बनेपछि (नेपाल—चीन) लोमान्थाङ—२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयलाई विकल्पका रुपमा ३० भदौदेखि प्रयोगमा ल्याइएको थियो ।
भन्सार विभागले यहाँको कोरलास्थित मुस्ताङ भन्सारलाई वैकल्पिक नाकाका रुपमा प्रयोग गरेलगत्तै पूर्ण रुपमा मुस्ताङ भन्सार कार्यालयलाई गतिशील तुल्याएको हो । नेपाल—चीन कोरलानाकाबाट मङ्सिर मसान्तसम्ममा सात अर्ब ३६ करोड रुपैयाँ बढीको मालवस्तु आयात हुँदा सयौँ विद्युतीय सवारीसाधनका साथै इलेक्ट्रोनिक सामान, लत्ताकपडा र विद्युतीय उपकरणहरु कोरलानाकाबाट भित्रिएको छ ।
यसैगरी कोरलानाकाबाट चीनतर्फ आठ करोड ३८ लाख ६३ हजार रुपैयाँ बराबरको हस्तकलाका सामान नेपालबाट भन्सार जाँचपास भई निर्यात भएको भन्सार प्रमुख खड्काको भनाइ छ । मुस्ताङ भन्सार कार्यालयले दुई महिनाको अवधिमा चीनबाट रु सात अर्ब ३६ करोडको समान आयात र आठ करोड ३८ लाख बढीको सामान चीनतर्फ निर्यात गर्दा तीन अर्ब ६२ करोड ६९ लाख रुपैयाँ बढी बढी राजस्व सङ्कलन गरेको भन्सार प्रमुख खड्काले बताए ।
यहाँको भन्सार कार्यालयबाट ३० भदौदेखि ३० मङ्सिरसम्ममा एक हजार ७२६ वटा विद्युतीय सवारी चीनबाट कोरलानाका हुँदै भन्सार जाँचपास भई गन्तव्यतर्फ पठाइएको छ । यसैगरी उत्तरी कोरलानाकास्थित चिनियाँ भन्सारबाट पैठारी भएका ८९७ वटा मालवाहक ढुवानीका साधनहरु भन्सार जाँचपास भई गन्तव्यतर्फ लागेको भन्सार प्रमुख खड्काको भनाइ छ । नेपालबाट भने मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भएर ५४ वटा मालवाहक ढुवानीका साधनहरु निकासी भएको कार्यालयले जनाएको छ ।


