
कालीगण्डकी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे
पर्वत । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन् । प्रहरीका अनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो ।
बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि जोखिममा रहेका छन् । घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ । जोखिममा रहेका बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थल पुग्न नसकेको प्रहरीले जनाएको छ । उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


