


इलामका बाढी–पहिरो पीडितहरूलाई हेलिकप्टरमार्फत राहत वितरण सुरु




काठमाडौं । कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी–पहिरो पीडितहरूका लागि विभिन्न राहत सामग्री पठाएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री पठाएको हो।
कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले राहत सामग्रीलाई छिटो र प्रभावकारी रूपमा वितरण गर्ने तथा मृतकका परिवारलाई सहयोग पुर्याउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिए।
मुख्यमन्त्री कार्कीका अनुसार स्थलमार्गबाट सामग्री पठाउन सकिने अवस्था नभएकाले तत्कालका लागि हेलिकप्टरमार्फत राहत पठाइएको हो। मन्त्रालयका सचिव रामप्रसाद आचार्यले प्रदेश सरकारले दैनिक उपभोग्य सामग्रीसँगै ब्ल्याङ्केट, सिरानी, म्याट्रेस र त्रिपालहरू समेत इलाम पठाएको बताए।
मन्त्रालयका अनुसार असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण विस्थापित भएकाहरूको उद्धार सम्पन्न गरेपछि राहत सामग्री पठाइएको हो।
बाढी–पहिरोबाट इलाम जिल्लामा सर्वाधिक क्षति भएकाले इलामलाई प्राथमिकतामा राखी राहत सामग्री पठाइएको प्रदेश सरकारले जनाएको छ।