


बाढी–पहिरोका कारण ३ प्रदेशका ९ राजमार्ग अवरुद्ध




काठमाडौं । देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढिपहिरो जाँदा ३ प्रदेशका ९ मुख्य राजमार्ग अवरुद्ध भएको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार वर्षाका कारण कोशी, बागमती र कर्णाली प्रदेशका नौ राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नं ४ वरुणखोलास्थित कोशी राजमार्ग र सोही जिल्लाको मकालु गाउँपालिका वडा नं ३ एकुवास्थित कोशी राजमार्ग अवरुद्ध भएका छन्
बाढीपहिरोलो इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग र पाँचथरको पाँचथर तुम्बेवा गाउँपालिका–२ नावाखोलास्थित तमोर करिडोरसमेत अवरुद्ध भएको प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित पासाङ ल्हामु सडकखण्ड, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोलास्थित वीपी राजमार्ग र सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकस्थित वीपी राजमार्गसमेत अवरुद्ध भएको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ कुरिल्लास्थित कर्णाली करिडोर र कालिकोटको पचालझरना गाउँपालिका–८ जुगेनीखोलास्थित कर्णाली करिडोरसमेत पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता घिमिरेले बताए ।
वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–१ स्थित कोशी लोकमार्ग, मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवाखोलास्थित कान्ति लोकपथ सडक र मकवानपुरकै वकैया गाउँपालिका–११ घटटेपाखास्थित कान्ति लोकपथ एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।