


गल्याङ नगरपालिकाका बस्याल गाईपालनबाट मनग्य आम्दानी गर्दै




स्याङ्जा । गल्याङ नगरपालिका–१ मालुङ्गाका ईश्वर बस्यालले व्यावसायिक रुपमा गाईपालन गरेको ६ वर्ष भयो ।
छ वर्षअघि ‘विन्दवासिनी कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यवसाय थाल्नुभएका बस्यालले गाईपालनबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । सुरुमा रु ५० लाख लगानी गरी व्यवसाय थाल्नुभएका बस्यालले फार्मलाई विस्तार गर्दै लैजाने भएका छन् । उनले सुरुमा ५० लाख रुपैयाँको लगानीमा केही संरचनासहित गाई र भैँसी गरी २० वटाबाट थाल्नुभएको व्यवसायलाई बर्सेनि विस्तार गर्दै लैजानुभएको हो ।
‘भैँसी र होलिस्टिन गरी २० वटा गाईभैँसीपालनबाट थालेको व्यवसाय बर्सेनि विस्तार गर्दै लगेको छु’, उनले भने, ‘हालसम्म आइपुग्दा फार्ममा ४४ गाईभैँसी छन् भने झण्डै रु डेढ करोड लगानी भएको छ ।’
फार्मबाट भएको आम्दानीलाई बर्सेनि लगानी गर्दै गइरहेकाले अझै केही वर्ष लगानीलाई निरन्तरता दिने उनले बताए । अहिले गाईभैँसीमध्ये २७ वटा दुहुना छन् भने बाँकी ब्याउने छन् । आफ्नै जग्गामा फार्म सञ्चालन गरेका बस्यालले झण्डै १०० रोपनी जमिन भाडामा लिएर गाईभैँसीका लागि आवश्यक पर्ने नेपियर, जै, वर्सिमलगायतका घाँस लगाएका छन् ।
‘फार्मबाट अहिले दैनिक २५० देखि ३०० लिटर दूध बिक्री हुने गरेको छ’, उनले भने, ‘फामबाट प्रतिलिटर रु ६५ देखि ७० का दरले दूध बिक्री भइरहेको छ ।” बस्यालको फार्ममा उत्पादित दूध गल्याङस्थित साना किसान कृषि सहकारी संस्थामा बिक्री गर्दै आउनुभएको छ । फामबाट बिक्री भएको दूधमा प्रतिलिटर गल्याङ नगरपालिकाले १५ रुपैयाँ थप अनुदान उपलब्ध गराउने भएकाले पनि सहज रुपमा मूल्य प्राप्त भएको उनले बताए ।
‘यहाँ जति मात्रामा दूध उत्पादन गरे पनि बजारको कुनै समस्या छैन’, उनले भने, ‘उत्पादित दूध सहकारीमार्फत बिक्री हुने गरेको छ, त्यसबाट रु १५ का दरले प्रतिलिटर अनुदानले थप प्रोत्साहन पुगेको छ ।’ फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । फार्मलाई थप व्यवस्थित गर्दै गाईभैँसी थप गर्ने र संरचना विस्तार गर्दै लैजाने योजनामा उनले बताए।
‘केही समय वैदेशिक रोजगारीपछि स्वदेश फर्केपछि बजार राम्रो देखेर पशुपालन व्यवसाय थालेको हुँ’, उनले भने, ‘काम गर्दै जाँदा सिकाइ हुँदै गएको छ, अनुभव सँगाल्दै गएको छु, व्यवसाय राम्रै छ ।’
फार्मसम्म विद्युत्को तार आए पनि आवश्यक मात्रामा पावर नआएकाले हातैबाट दुहुनुपरेको उनले बताए । मेसिन ल्याएर राखिएको तर पावरको कमीका कारण मेसिन सञ्चालनमा समस्या रहेको उनले बताए ।