
राताम्य पुँजी बजार: लगानीकर्ताको डुब्दै लगानी

काठमाडौँ । शेयर बजारमा पछिल्लो समय लगातार राताम्य देखिन थालेको छ । पुँजी बजार सुस्त हुँदा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको छ । बैंक वित्तीय संस्थाको लाभांश सिजन चलि रहेको छ । यो समयमा समेत शेयर बजारले गति लिन सकेको छैन ।
हाल बजारका सबै सूचकहरू सकारात्मक देखिए पनि बजारले उल्लेखनीय वृद्धि गर्न सकेको छैन। उनीहरू माफियाहरूको चलखेल, अनियमित गतिविधि र बजारमा संरचनागत कमजोरीलाई मुख्य कारणको रूपमा उल्लेख गर्दै आएका छन् । यसले गर्दा आफ्ना बचत लगानी गरेका नागरिकहरू जोखिममा परेको अनुभूति गर्दै चिन्तित बनेका छन् । उनीहरूले लगानीको दीर्घकालीन योजना पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
यता, केही लगानीकर्ताहरूले दशैं नजिकिँदै गर्दा बजारमा ठूलो गिरावट आएको बताउँदै आएका छन् । पर्वको समयमा आवश्यक खर्च र पैसाको जोहो सुरु भएपछि धेरैले आफ्ना शेयर बिक्री गरी तत्काल नाफा बुक गर्ने रणनीति अपनाएका छन् । यसले बजारमा अस्थिरता थप गरेको छ र लगानीकर्ताहरूबीच भविष्यको उतार–चढावप्रति सावधानी बढाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६४अकंले घटेर २७२६.३३ बिन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँको कारोबार भएको हो ।
आज १२ उपसूचक राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.४९ प्रतिशत, विकास बैंक समूहको ०.९२ प्रतिशत, फाइनान्स समूहको ०.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९३ प्रतिशतले शेयर मूल्य घटेको छ ।
बुधबार ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको घटेको छ ।


