

गोरखाको धार्चेकाे खोर्लाबेंसीमा बेलिब्रिज निर्माण




गोरखा । ३ सय ४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाले उत्तरी गोरखाको धार्चे–३ खोर्लावेशीमा निर्माण गरेको बेलिब्रिजको उद्घाटन गरिएको छ ।
पाँच करोड रूपैयाँको लागतमा निर्माण भएको सो पुलको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ र आयोजनाको प्रवर्द्धक कम्पनी टाइम्स इनर्जीका अध्यक्ष हिम पाठकले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । तिब्बती सीमा जोड्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट लार्के सडकको खोर्लावेशीस्थित निम्रुङ खोलामा सो निर्माण गरिएको हो ।
पुल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गुरुङले उत्तरी गोरखाको लाइफलाइनका रुपमा रहेको सो बाटोमा पुल निर्माण गरेकामा आयोजनालाई धन्यवाद दिए । साथै समयमै आयोजनाको सुरुवात गरी समयमै सम्पन्न गर्न शुभकामना दिए ।
आयोजनाको प्रवर्द्धक कम्पनी साहस ऊर्जाका हिम पाठकले आयोजना र गाउँपालिकाको समन्वय र सहकार्य जारी रहने अपेक्षा व्यक्त गरे । साथै पुल बनेपछि आयोजनाको बाँधस्थलसम्म सवारीसाधन पुग्न सजिलो हुने भएकाले भदौदेखि नै आयोजनको काम सुरु गर्ने जानकारी दिए ।
चुमनुब्री गाउँपालिका–३ का वडाध्यक्ष रामकुमार गुरुङ, धार्चेकी उपाध्यक्ष सुनिला गुरुङ, धार्चेका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । पुल ३७ मिटर लामो र ४ मिटर चौडा फराकिलो रहेको छ । सो पुल बनेपछि धार्चे–१, २ र ३ का बासिन्दा तथा चुमनुब्री गाउँपालिकाका सबै वडाका बासिन्दालाई सदरमुकाम तथा राजधानी लगायतका सहरी क्षेत्र आवतजावत गर्न सहज भएको छ ।
‘यसअघि वर्खाका बेला खोर्लाखोला बढेर सवारी साधन चलाउन सकिँदैनथ्यो । अब पुल बनेपछि सजिलो भएको छ’, धार्चे–३ का पूर्ववडाध्यक्ष इन्द्रप्रसाद गुरुङले भने, ‘अब तातोपानी, दोभानसम्म ढुक्कले हिउँद वर्खे सवारीसाधन चल्छ ।’ चुमनुब्रीका बासिन्दा सवारीसाधन चढ्न माछाखोलासम्म आइपुग्नुपर्नेमा अब सजिलो भएको उनको भनाइ छ ।
बूढीगण्डकी जलविद्युत् आयोजना चुमनुब्री–३ सल्लेरीमा बाँधबाँधी ७ किलोमिटर सुरुङबाट पानी लगेर धार्चे–३ तातोपानीमा विद्युत् गृह निर्माण गरिनेछ । यहाँ उत्पादित विद्युत् ४५ किलोमिटर टाढा नुवाकोटको रातमाटे सवस्टेसनमा लगेर केन्द्रीय प्रशारणमा जोडिनेछ ।