

स्वास्थ्य बीमा बोर्डको प्रथम सेवाबिन्दुमा हेरफेर




काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रीय विशिष्टीकृत सेवा दिने अस्पताललाई रिफरल सेन्टरको रूपमा काम गर्ने गरी निर्देशन दिन स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गर्यो ।
सोही आधारमा बोर्डले १ साउनदेखि प्रथम सेवाबिन्दुको रूपमा सेवा प्रवाह गरेका केन्द्रीय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विशिष्टीकृत अस्पताल गरी २७ अस्पताललाई रिफरल सेवा दिन भनेको थियो ।
तर केही अस्पताल र प्रतिष्ठानलाई प्रथम सेवाबिन्दुबाट हटाइएको भन्दै स्वास्थ्यकर्मी तथा कर्मचारीले आपत्ति जनाएका छन् ।
संघीय सरकार मातहतको विराटनगरस्थित कोशी अस्पताललाई बोर्डले प्रथम सेवाबिन्दुबाट हटाउने निर्णय गरेपछि स्वास्थ्यकर्मी र कर्मचारीहरुले विरोध जनाए । उक्त निर्णय तत्काल सच्याउन माग गर्दै उनीहरुले मेडिकल सुपरिटेन्डेन्ट डा। रुणा झामार्फत स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाए । बोर्डको निर्णयले अस्पतालको सेवामाथि नागरिकको सर्वसुलभ पहुँचमाथि हस्तक्षेप भएको उनीहरुको दाबी छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवाबिन्दुबाट हटाएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आपत्ति जनाए । उनले बोर्डलाई पत्र लेख्दै धरानका जनतालाई प्रथम सेवाबिन्दुबाट वञ्चित नबनाउन माग गरे । मेयर साम्पाङले पत्र नै सामाजिक सञ्जालमा राख्दै लेखेका छ ुधराने जनतालाई नहेप है । फेरि थाम्न सक्दैनौँ ।
यसरी २७ अस्पताललाई प्रथम सेवाबिन्दुबाट हटाउँदा सामाजिक सञ्जालमा तीव्र विरोध भएपछि मन्त्री पौडेल आफ्नो निर्णय सच्याउन बाध्य भए । उनलेस्वास्थ्य बिमाको प्रथम सेवाबिन्दु हट्दा नागरिकलाई कठिनाइ परेको महसुस गरी अप्ठ्यारफ पर्ने स्थानहरुमा केन्द्रीय सरकारी अस्पतालहरुमा प्रथम सेवाबिन्दु कायमै रहने गरी व्यवस्था मिलाएको सामाजिक सञ्जालमार्फत जनाए ।
स्वास्थ्य बिमा बोर्डले मन्त्रालयको पत्रअनुसार अघिल्लो निर्णय सच्याउँदै १३ अस्पताललाई प्रथम सेवाबिन्दुको रूपमा काम गर्न निर्देशन दिएको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार केन्द्रीय, प्रतिष्ठान र विशिष्टीकृत १३ अस्पतललाई तीन महिनाका लागि मात्रै प्रथम सेवाबिन्दुको रूपमा काम गर्न अनुमति दिएको बताए ।
काठमाडौं उपत्यकाबाहेक सात प्रदेशका १३ अस्पताललाई उक्त सेवा प्रवाह गर्ने अनुमति दिइएको हो ।