
अपि पावर कम्पनीले वैधानिक दायरामा टेकेर लाभांश वितरण गरेको खुलासा



काठमाडौं । पछिल्लो समय राम्रो मुनाफा आर्जन गरेको र शेयरधनीलाई लोभलाग्दो लाभांश वितरण गरेको अपि पावर कम्पनी माथि विभिन्न टिका टिप्पणीहरु भइरहेका छन् । सोही समयमा कम्पनीले आफ्नो लाभांश वैध रहेको प्रष्ट पारेको हो ।
अपि पावर कम्पनी लिमिटेडको असोज १० गते बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०८१।८२ को निर्णय अनुसार कम्पनीले गत भदौ ७ गतेको बैठकबाट कम्पनीको आर्थिक वर्ष २०८१।८२ को लेखापरिक्षण सम्पन्न गरी खुद मुनाफा तथा शेयर प्रिमियमाबाट हाल कायम रहेको कम्पनीको चुक्ता पूँजी पाँच अर्ब ७८ करोडको शेयरधनीलाई ९ प्रतिशतका दरले बोनश शेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको थियो । सोही लाभांश सम्बन्धमा विद्युत नियमन आयोगले सो मुनाफा वितरण कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा १० बमोजिम बर्जित गरिएको कारण देखाई स्वीकृति दिन नमिल्ने जानकारी दिएको थियो । सोही विषयमा अपि पावरले आफ्नो धारणा राखेको छ ।
यस्तो छ अपि पावरको धारणा
कम्पनी ऐन, २०६३ को दफा १०८ को उपदफा २ बमोजिम कम्पनीको कारोबारको यथार्थस्थित स्पष्ट रुपमा प्रतिबिम्वित हुनेगरी प्रचलित कानून बमोजिम अधिकार प्राप्त निकायले लागु गरेको लेखामान अनुरुप अपि पावर कम्पनीले लिमिटेडले एनएफआरएस अनुरुप कम्पनीको आर्थिक वर्ष २०८०।८१ को वित्तीय विवरण तयार गरेको र सो बमोजिम कम्पनीको लेखा परिक्षण गरिएको छ ।
एनएफआरएस ९ बमोजिम यस कम्पनीले विभिन्न कम्पनीहरुमा गरेको शेयर लगानीलाई नाफा नोक्सान हिसाब मार्फत बजार मूल्य अनुरुप लेखांकन गरिएको र सो बमोजिम बजार मूल्यको थप घट रकमलाई कम्पनीको नाफा नोक्सान हिसाबमा नाफा/घाटा लेखांनकन गरी सो बापत सिर्जना हुने स्थगत कर समेतको व्यवस्था गरी कम्पनीको मुनाफा गणना गरिएको छ । यसरी लेखा प्रतिवेदन मान ९ बमोजिम लेखांकन गरिएको मुनाफा सम्पत्तिको पुनर्मूल्यांकन नभई नियमत मुनाफा सरह रहने हुन्छ ।
कम्पनी ऐनको दफा ५६ ले कम्पनीको शेयर पूँजी हेरफेर गर्ने अधिकारहरुको व्यवस्था गरेको र सो दफा को उपदफा १० ले कम्पनीले गरेको मुनाफा तथा मुनाफाबाट सिर्जित कोषबाट बाहेक सम्पत्तिको पुनर्मुल्यांकन गरी शेयर पूँजी वृद्धि गर्न वा बोनश शेयर निष्काशन गर्न बर्जित गरेको छ । यस सम्बन्धमा नेपाल लेखा मान १६ मा स्थिर सम्पत्ती सम्बन्धमा पूनर्मूल्यांकनको व्यवस्था रहेको छ र सो बमोजिमको फरकलाई नाफा नोक्सान हिसाबमा नदेखाई अलग्गै पूनर्मूल्यांकन कोषमा सार्नु पर्ने व्यवस्था रहेको छ । जुन व्यवस्था कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा १० बमोजिम नै रहेको छ । तर (एनएफआरएस-९) बमोजिम कम्पनीको नाफा नोक्सान हिसाब मार्फत सिर्जित मुनाफालाई पूनर्मूल्यांकनको नाफा भनेर व्याख्या गर्नु प्रचलित ऐन तथा नेपाल लेखा प्रतिवेदनको मानको मर्म तथा व्यवस्था प्रतिकुल हुन्छ । यस बमोजिम अपि पावर कम्पनी लिमिटेडले कम्पनीको खुद मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई ९ प्रतिशत दरले बोनश शेयर ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय कानुन सम्मत रहेको छ ।
अपि पावर कम्पनी लिमिटेडले यस विषयमा नियमनकारी निकाय विद्युत नियमन आयोगमा आवश्यक थप कागजपत्र सहित पत्राचार गरी थप छलफल गरी सो विषयमा आवश्यक पुष्टि गरी प्रस्तावित लाभांशलाई स्वीकृति गराउने विषयमा कार्य गर्ने निर्यय समेत गरेको छ ।

