

वीरगञ्ज महानगरपालिकासँग बीमा सम्बन्धी ज्ञानमूलक छलफल सम्पन्न




काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज मधेश प्रदेशको वीरगञ्जमा‘वीरगञ्ज महानगरपालिकासँग नेपाल बीमा प्राधिकरण’ विषयक ज्ञानमूलक छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले नगरवासीको सामूहिक दुर्घटना बीमा गर्न र घर बनाउन नक्सा पास गर्दा बीमा अनिवार्य गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रमुख सिंहले महानगरपालिकाको भवनको बीमा गर्नका लागि प्रक्रिया अगाडि बढाउने उल्लेख गर्नुहुँदै बीमा कम्पनीहरूले प्रतिवद्धता जनाएका कुराहरू कार्यान्वयन गर्नुपर्ने बताए ।
वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले पालिकास्तरमा नै बीमा सम्बन्धी गुनासाहरू राख्नपाउने र समस्या समाधान गर्ने व्यवस्था हुनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महानगरपालिको केही प्रतिशत बजेट छुट्याएर विपन्न तथा गरीब बर्गको बीमा गर्ने व्यवस्था गर्न सुझाव दिए ।
अध्यक्ष सिलवालले विद्यालयका पाठ्यक्रममा ‘बीमा’ विषय समावेश गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा बजारको विद्यमान अवस्था, बीमाको विकास एवम् विस्तारमा स्थानीय तहको भूमिका लगायत बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गरेका थिए ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू, अगुवा कृषक र बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवले गरेकी थिइन ।
वीरगञ्ज उद्योग वाणिज्य संघसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल सम्पन्न
त्यस्तै, नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्योगी व्यवसायीहरूले राखेका बीमादर लगायतका समस्याहरूको समाधानका लागि थप अध्ययन आवश्यक भएकाले थप अध्ययन गरी समाधान निकालिने बताएका थिए ।
अध्यक्ष सिलवालले (फ्रड क्लेम) नक्कली दाबी भुक्तान को समस्या निकै देखिएकाले त्यसको समाधानका लागि निरन्तर कार्य भइरहेको जानकारी दिए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले उद्योगहरूको उद्देश्य र रणनीति फरक फरक हुने भएकाले सबैका लागि एउटै बीमादर हुन नहुने र बीमा कम्पनीहरू पारदर्शी हनुपर्ने विचार व्यक्त गरे ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि प्रसाद गौतमले बीमा दाबी भुक्तानीमा ढिलाई हने गरेको र कोरोना बीमाको बाँकी दावी भुक्तानी नहुँदा बीमाप्रतिको विश्वास घटेको धारणा राखेका थिए ।
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले मोटरबीमा निर्देशिका परिमार्जनको क्रममा रहेको र ट्रेडिङ तथा म्यानिफ्याक्चरिङका सम्बन्धमा अध्ययन भइरहेको बताए ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरू लगायत उद्योगी व्यवसायीहरू र बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।