
निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग



झापा । एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्व–पश्चिम राजमार्गको झापा खण्डमा स्थानीयवासीले प्रदूषण नियन्त्रण गर्न माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका पूर्वअध्यक्ष टीकाराज ढकालले एसियाली राजमार्गमा स्तरोन्नति भइरहेको सडकमा धुलो नियन्त्रण नगरिएकाले आवतजावत कष्टकर र वातावरण प्रदूषित भएको बताए ।
राजमार्गमा दैनिक पाँच पटक पानी छ्यापेर धुलो नियन्त्रण गर्न सकिने धारणा राख्दै उहाँले गहिरो खाडलका रुपमा रहेका पुल र कल्भर्टको डाइभर्सन क्षेत्र सवारी आवागमनका दृष्टिले सुविधाजनक बनाउनुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले राजमार्ग निर्माण क्रममा फैलिएको धुलो प्रदूषणका बारेमा पटकपटक गुनासो आइरहेको जनाउँदै सम्बन्धित निर्माण व्यवसायी र सम्बद्ध सरकारी निकायलाई बोलाएर समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अनुगमनमा आएको संसदीय समितिको टोलीका संयोजक एवं सांसद एलपी साँवाले सरोकार भएकाले औंल्याए । समस्या स्थानीय पहलमा समाधान गर्न सकिने धारणा व्यक्त गर्दै राजमार्ग निर्माणका क्रममा सर्वसाधारणले भोग्नुपरेको सास्ती हटाउन समितिकातर्फबाट सम्बन्धित निकायलाई निर्देशन दिए ।
झापाको काँकडभिट्टादेखि पाडाजुँगीसम्मको ४५ किलोमिटर पूर्व–पश्चिम राजमार्गमा हाल एभ्रास्कन कालिका जेभीले राजमार्गको स्तरोन्नति कार्य ठेक्कामार्फत गरिरहेको छ ।
राजमार्गको यो पूर्वी खण्डलाई काँकडभिट्टा लौकही सडक योजना कार्यालय दमकले अनुगमन गर्ने जिम्मेवारी पाएको छ । यहाँ एक सय ४३ वटा कल्भर्टमध्ये ९३ वटाको काम भइरहेको छ भने १८ मध्ये १७ वटाको काम सुरु गर्ने तयारी भइरहेको योजना कार्यालय दमकका आयोजना प्रमुख इञ्जिनियर सुनीलबाबु पन्तले जानकारी दिए ।
२०८० साल कात्तिक २ गते निर्माण सम्झौता भएको यो आयोजना २०८३ माघ १९ गते सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।

