

क्यानडाद्वारा अमेरिकाको करनीतिविरुद्ध डब्ल्युटीओमा उजुरी




जेनेभा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार आयातमा लगाएको चर्को करप्रति क्यानडाले विश्व व्यापार सङ्गठन (डब्लूटीओ) मा उजुरी दिएको छ ।
‘क्यानडाले क्यानडाबाट अमेरिका पठाइने कार र कारका सामानमा २५ प्रतिशत कर लगाउने अमेरिकी कदमका सम्बन्धमा डब्ल्यूटीओमा विवाद परामर्शको लागि अनुरोध गरेको छ,’ संगठनले भनेको छ।
उजुरीमा क्यानडा सरकारले अन्तर्राष्ट्रिय व्यापार कानून अन्तर्गत ‘संयुक्त राज्य अमेरिकाको दायित्वहरूसँग असङ्गत’ करहरू लगाएको आरोप छ । क्यानडाले अमेरिकाबाट आयात हुने दशौँ हजार सवारी साधनमा २५ प्रतिशत कर लगाउने बिहीबार बताएको छ ।
गत जनवरीमा सत्तामा आएदेखि नै ट्रम्पले अमेरिका आयात हुने विभिन्न सामानमा कर वृद्धिको घोषणा गरेको थियो जसले गत हप्ता विश्वभरका देश र सामानको मूल्यमा असर पारेको छ ।
ट्रम्पले गत बुधबार घोषणा गरेको विश्वव्यापी करबाट क्यानाडा धेरै हदसम्म जोगिएको थियो, किनकि वासिङ्टनले अमेरिका–क्यानडा–मेक्सिको स्वतन्त्र व्यापार सम्झौताको अधिकांश उत्पादनहरू समावेश भएअनुरूपका सामानहरूलाई छूट दिएको थियो ।
अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार मध्येको एक क्यानडाले स्टिल, आल्मुनियम र अन्य उत्पादनमा अझै पनि करको सामना गरिरहेको छ।
कार र र सवारी साधनका सामानहरूमा कर वृद्धिले विशेष गरी उत्तर अमेरिकामा पीडादायी हुने अपेक्षा गरिएको छ, जहाँ ती बजारहरू भारी रूपमा एकीकृत छन्।
डब्ल्यूटीओ परामर्शले पक्षहरूलाई यस विषयमा छलफल गर्ने र मुद्दाको साथ अगाडि नबढी सन्तोषजनक समाधान खोज्ने अवसर प्रदान गर्दछ। क्यानडाले ट्रम्पको यसअघिको करवृद्धिको युद्धाभ्यासलाई लिएर डब्ल्यूटीओमा छुट्टै उजुरी दर्ता गरेको छ ।