अर्थमन्त्री पौडेलसँग नाडा र भारतिय गाडी उत्पादक संघ सियामका प्रतिनिधिहरुको गहन छलफल
काठमाडौं । नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ ।
सोही क्रममा सियामका सहसभापती यसपाल साँच्चरको नेतृत्वमा काठमाण्डौमा आइपुगेको (सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्स) का २५ सदस्य सहितको प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग भेटगरी नेपाल र भारत बिच नेपालमा अटोमोवाइल उद्योग तथा व्यवसायको सन्दर्भमा संयुक्त लगानी गर्ने, लगायतका विभिन्न विषयहरुका सम्बन्धमा विशेष छलफल गरिएको थियो ।
नाडा र सियामको सो संयुक्त प्रतिनिधिमण्डलले सोही दिन माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल र माननीय उद्योग, वाणिज्य तथा आपूतिमन्त्री दामोदर भण्डारीसंग पनि मन्त्रालयमा सोही विषयमा सार्थक छलफल गरेको थियो ।
सो प्रतिनिधि मण्डलमा धेरै जसो ठुला ठुला ओरिजिनल इक्यूपमेन्ट म्यानुफ्याक्चरर्सको उपस्थिति सहित अटो उद्योगका सबै खण्डहरू (जस्तै यात्रुवाहक सवारी, व्यावसायिक सवारी र दुईपाङ्ग्रे सवारी साधन) को सहभागिता रहेको थियो । भ्रमणका क्रममा प्रतिनिधि मण्डलले भेटमा भारत र नेपालको अटो उद्योगमा भइरहेको विकासक्रम र दुई देशबीचको निरन्तर सहयोगको महत्वका बारेमा छलफल भएको थियो । सियाम र नाडाले अटो उद्योगका लागि भविष्यको पहल, प्रविधि श्रृङ्खला र तालिमका लागि संयुक्त रूपमा सहकार्य गर्न सहमती पनि गरेको थियो ।
उक्त छलफलम सियामले नाडासँग मिलेर नेपाल सरकारलाई अटो क्षेत्रका लागि भिजन योजना विकास गर्न अनुरोध गरेको थियो । जसले सबै सरोकारवालाहरू जस्तै डिलर, उद्योग, कम्पोनेन्ट बिक्रेता, इत्यादिलाई सरकारको दुरदृष्टी अनुरूप आफ्नो व्यवसायको योजना बनाउन सक्षम बनाउनेछ । नेपालमा सवारीसाधन दर्ता, संकलन र रिपोर्टिङका लागि बलियो योजनाको विकास गर्ने, सीप अभिवृद्धि र चालक तालिमका लागि संयुक्त कार्यक्रमहरू सिर्जना गर्ने सम्भावनाको खोजी गर्ने जस्ता विषयहरुमा छलफल गरेको थियो ।
नाडा र सियाम दुबैले बंगलादेश र श्रीलंकासँगै सन् २०२४ मा गठन भएको साउथ एशियन अटो मोटिभ फेरमलाई सुदृढ गर्दै भारत र नेपालको अटो क्षेत्रबीचको सम्बन्ध निर्माणमा नजिकबाट काम गर्न सहमत भएका छन् ।
नाडाले यस्तो भेटघाटबाट नेपाल भारतविचको जनस्तरको सम्बन्ध समेत थप सुदृढ हुने र निकट भविश्य मै केही परिणाम समेत आउने अपेक्षा राखेको छ । उक्त प्रनिधिमण्डलमा नाडाकोतर्फबाट उपाध्यक्षद्धय राजनबाबु श्रेष्ठ तथा निराकार श्रेष्ठ, नाडाका सचिव विक्रम सिंहानिया, नाडाका केन्द्रीय कार्य समिति सदस्य निशान ढकाल, नाडाका एशोसिएशन सचिव सुरेन्द्र प्रधान र तालिम कोओर्डिनेटर आरजु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।