
क्षतिग्रस्त खानेपानी आयोजनाको पूर्वाधार पुनः निर्माण सुरु
काठमाडौं । हालैको भीषण बाढीबाट क्षतिग्रस्त सदरमुकामको खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण प्रक्रिया सुरु भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, कास्कीले आगामी बर्खाअघि नै पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का आह्वान गरेको छ ।
बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट बेनी बजारमा पानी ल्याउने १४ किलोमिटर पाइपलाइन पुनःनिर्माण गर्न रु १३ करोडको ठेक्का आह्वान गरिएको हो ।
बाढीका कारण असोज ११ गतेदेखि खानेपानी आपूर्ति अवरुद्ध भएको थियो । करिब डेढ महिनापछि अस्थायी पाइपलाइन मर्मत गरेर कात्तिक २७ गतेदेखि पानी वितरण सुरु गरिएको अध्यक्ष गिरीले बताए।
“कात्तिक ५ गते म्याग्दी आउनुभएका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसमक्ष पुनःनिर्माणको प्रस्ताव राखेका थियौँ । उहाँको पहलपछि सम्बन्धित निकायले सर्वेक्षण र लागत अनुमान तयार गरी ठेक्का प्रक्रिया अघि बढाएको हो”,उनले भने।
संस्थाले तत्कालीन योजनाका लागि रु १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि रु ७० करोड आवश्यक पर्ने अनुमान गरेको थियो । सोही लागत अनुमानसहित संस्थाले खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरेको थियो । पहिलो चरणमा तत्काल आवश्यक पुनःनिर्माणका लागि ठेक्का आह्वान गरिएको हो ।
बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार दुई सय घरपरिवारका करिब २५ हजार बासिन्दालाई प्रतिसेकेन्ड २० लिटर खानेपानी आवश्यक पर्ने संस्थाले जनाएको छ । रिठाखर्क र डाँडाखर्कका मुहानबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुँदै आएको थियो । बाढीले ती मुहानबाट पानी ल्याउने पाइपलाइनमा क्षति पुर्याएपछि आपूर्ति बन्द भएको थियो ।


