
आइएमई लाइफ इन्स्योरेन्स दक्षिण एसियाको साफा मेरिट अवार्ड’ बाट सम्मानित
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित भएको छ । दक्षिण एसियाका जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो ।
बंगलादेशको ढाकामा शनिबार आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख वित्तीय अधिकृत (सिएफओ) जगत बहादुर बोहरा तथा जोखिम तथा अनुपालन विभाग प्रमुख त्रिलोचन रावतले संंयूक्तरुपमा अवार्ड ग्रहण गर्नुभएको थियो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को नवौें वार्षिक प्रतिवेदनका लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा प्रदान गरिने उक्त अवार्ड प्राप्त गरेको हो ।
साफाले प्रत्येक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय तथा व्यावसायिक संस्थाका वार्षिक प्रतिवेदन मूल्याङ्कन गरी उत्कृष्ट प्रतिवेदन प्रस्तुत गर्ने संस्थालाई सम्मान गर्दै आएको छ । वित्तीय विवरणको गुणस्तर, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनका मापदण्ड पालना गरेको भन्दै साफाले आइएमई लाइफलाई उक्त सम्मान प्रदान गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काले यो सम्मान वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनप्रति कम्पनीले राख्दै आएको प्रतिबद्धताकोे मान्यता भएको बताए ।
कम्पनीले वार्षिक प्रतिवेदनमार्फत आफ्नो वित्तीय अवस्था र कार्यसम्पादनका साथै व्यावसायिक रणनीति, जोखिम व्यवस्थापन, संस्थागत सुशासन तथा सामाजिक उत्तरदायित्वका गतिविधि पारदर्शी रूपमा प्रस्तुत गर्दै आएको जनाएको छ ।
सरोकारवालालाई कम्पनीका गतिविधि, उपलब्धि र भावी प्राथमिकताबारे विश्वसनीय जानकारी उपलब्ध गराउने उद्देश्यले प्रतिवेदनको गुणस्तर, विश्वसनीयता र प्रस्तुतिमा निरन्तर सुधार गर्दै आएको कम्पनीको भनाइ छ ।
यसअघि कम्पनीले सोही वार्षिक प्रतिवेदनका आधारमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदनतर्फ तेस्रो पुरस्कार (कांस्य अवार्ड) प्राप्त गरेको थियो । उक्त सम्मानपछि दक्षिण एसियामा पनि सम्मानित हुनुले कम्पनीको प्रतिवेदनको गुणस्तर र पारदर्शितामा अपनाउँदै आएको अभ्यासलाई थप मान्यता दिएको छ ।
आइएमई समूहअन्तर्गतको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सन् २०१७ देखि जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । Ensuring Future को मर्मअनुरूप देशभरका शाखामार्फत ग्राहकलाई विश्वसनीय बीमा सेवा उपलब्ध गराउँदै आएको कम्पनीले पारदर्शिता, सुशासन र जवाफदेहिता कायम राख्दै ग्राहक तथा सरोकारवालाको विश्वास अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको छ ।


