
ब्राउन सुगर र मोटरसाइकलसहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का बजारबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–३ बस्ने ३१ वर्षीय अमित अधिकारी र सोही स्थानका २४ वर्षीय रोहन पोदार रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो साँझ ६ बजे झुम्का बजारमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागू औषध ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट संयुक्त प्रहरी टोली खटिएको थियो।
सडक छेउमा प्रदेश १–०२–०५५ प ४१०६ नम्बरको मोटरसाइकलमा अडेस लागेर बसिरहेका उनीहरूलाई शंका लागि खानतलासी गर्दा साथबाट १४.०७ ग्राम (चौध ग्राम सत्तरी मिलिग्राम) लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागू औषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द्र बहादुर खड्काले जानकारी दिए ।


