
मुक्तिनाथमा उठ्यो ४५ लाख रुपैयाँ भेटी, ‘थाई भाटदेखि यूएई दिरामसम्म १२ देशका मुद्रा’
मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४५ लाख ४६ हजार ८३२ रुपैयाँ बराबरको भेटी सङ्कलन भएको छ । साउनदेखि कात्तिकसम्म रसिद र दान पेटिकामार्फत उक्त भेटी सङ्कलन भएको हो ।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार यस अवधिमा नेपाली २६ लाख ५९ हजार ५५७ रुपैयाँ र भारतीय ११ लाख ७९ हजार ५४७ रुपैयाँ सङ्कलन भएको छ ।
भक्तजनले स्वेच्छाले १०० रुपैयाँभन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर सहयोग सङ्कलन गर्ने व्यवस्था रहेको उनले बताए । त्यस्तै, १०० रुपैयाँभन्दा कम दान गर्न चाहनेका लागि दान पेटिकाको व्यवस्था गरिएको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा रसिदमार्फत नेपाली १७ लाख ५८ हजार ५६२ रुपैयाँ र भारतीय तीन लाख ९२ हजार ६८७ रुपैयाँ सङ्कलन भएको समितिले जनाएको छ ।
मन्दिरमा नेपाली र भारतीय मुद्राबाहेक अन्य १० राष्ट्रका मुद्रा पनि भेटीका रूपमा प्राप्त भएका छन् । व्यवस्थापक भुसालका अनुसार यस अवधिमा अमेरिकी डलर ८०२, अस्ट्रेलियन डलर २७०, थाई भाट ४४०, यूएई दिराम एक हजार २५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउन्ड २१, ओमानी रियाल पाँच, युरो एक र चिनियाँ युआन १३० सङ्कलन भएको छ ।
समितिका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म कोषमा ११ करोड ७६ लाख ३३ हजार १९१ रुपैयाँ मौज्दात रहेको छ । सङ्कलित भेटी तथा चन्दा रकम कृषि विकास बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र सांग्रिला बैंकमा रहेको समितिको खातामा जम्मा हुने गरेको छ ।


