
छिमेक लघुवित्तले डाक्यो एजीएम, लाभांश प्रस्ताव पारित गर्ने
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस ६ गतेका लागि २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा होटल सामना प्रा.लि.को सभाहल, मकवानपुर, हेटौँडामा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ११.९६३१ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १३.०३६९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर २२ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


