
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी
काठमाडौं । नेपाली कांग्रेसको मंसिर ८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले बैठक आज बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ ।
बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकमा केन्द्रीय सदस्यहरू, प्रदेश सभापतिहरू तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले विभिन्न विषयमा धारणा राखेका छन् ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुमबासी परिवारलाई अस्थायी आश्रयस्थलबाट समेत हटाउने सरकारको निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको ठहर गरेको थियो ।
कांग्रेसले सरकारले सुकुमबासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको तर महिनौँसम्म अनिश्चिततामा राखेको भन्दै अस्थायी आश्रयसमेत खोस्न खोज्नु गलत भएको जनाएको छ ।
राज्य नागरिकको अभिभावक भएको उल्लेख गर्दै कांग्रेसले घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व भएको जनाएको छ । उसले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।


