
अधिवेशनलाई नेतृत्व चयनसँगै पार्टी एकताको अवसर बनाउनुपर्छ : शशांक कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका अधिवेशन तथा महाधिवेशनलाई नेतृत्व परिवर्तन र प्रतिस्पर्धाको अवसरका साथै पार्टी र संगठनलाई एकताबद्ध बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत पर्सा जिल्ला अधिवेशनको उद्घाटन गर्दै महाधिवेशन तयारी समितिका संयोजक डा. कोइरालाले अधिवेशनमा नेतृत्व चयन र प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसलाई पार्टी एकताको अभियानका रूपमा उपयोग गर्नुपर्ने बताएका हुन् ।
‘पार्टी अधिवेशन र महाधिवेशनमा नयाँ नेतृत्व चयन हुन्छ, प्रतिस्पर्धा हुन्छ । यो स्वाभाविक हो । तर हामीले अधिवेशन र महाधिवेशनलाई पार्टीलाई एकताबद्ध गराउने अवसरका रूपमा लिनुपर्छ,’ उनले भने ।
अधिवेशनलाई पार्टी एकताको अवसर बनाउन सके नेपाली कांग्रेसलाई कसैले कमजोर बनाउन नसक्ने उनको भनाइ थियो । वडादेखि केन्द्रसम्मका अधिवेशनलाई एकताको अभियानका रूपमा अघि बढाउन सके सबै निर्वाचनमा कांग्रेस बलियो बन्ने उनले बताए ।
‘कांग्रेस एकताबद्ध भए कसैको तागतले हराउन सक्दैन । पद एउटा हुन्छ, आकांक्षा राख्ने साथी धेरै हुन्छन् । हामीले अधिवेशनमा एकताबद्ध बनाउन सके सबैले सबैलाई सहयोग गर्ने वातावरण बन्छ,’ उनले भने ।
डा. कोइरालाले २०३३ सालमा बीपी कोइराला नेपाल फर्कने निर्णय गर्दा गणेशमान सिंहले फरक मत राखे पनि नेताको निर्णय स्वीकार गरेको प्रसंगसमेत उल्लेख गरे । नेताले गरेको निर्णय सबैले पालना गर्नुपर्ने उनको भनाइ थियो ।
‘बीपीको नेपाल फर्कने निर्णयमा गणेशमानजी सहमत हुनुहुन्नथ्यो । तर बीपीले नेपाल फर्कने निर्णय गरेपछि गणेशमानजीले बीपी मेरो नेता हो, उहाँले निर्णय गरेपछि मैले मान्नु मेरो दायित्व हो भन्दै नेपाल फर्कनुभयो,’ उनले भने ।
बीपी कोइरालाले देखाएको बाटो पछ्याउन सके कांग्रेस र मुलुकलाई सबै संकटबाट पार लगाउन सकिने डा. कोइरालाले बताए । उनका अनुसार बीपीको बाटो भनेको उहाँको अडान, निर्णय गर्ने शैली, साथीहरूको कुरा सुन्ने धैर्य र परिस्थितिको विश्लेषण गर्ने तरिका हो । यी पक्षलाई आत्मसात् गर्न सके जस्तोसुकै संकटबाट पनि पार पाउन सकिने उनको भनाइ थियो ।


