
सर्लाहीमा फर्जी कागजात बनाएर जग्गा नामसारी, कर्मचारी र जनप्रतिनिधिसहित ७ जनाविरुद्ध मुद्दा
काठमाडौं । सर्लाहीमा अर्कै व्यक्तिको स्वामित्वमा रहेको जग्गा फर्जी कागजात तयार गरी अन्य व्यक्तिको नाममा दर्ता गरेको आरोपमा सरकारी कर्मचारी र जनप्रतिनिधिसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीका तत्कालीन कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा जग्गा प्राप्त गर्ने व्यक्तिविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार सर्लाहीको साविक सोकनाहा गाविस वडा नम्बर २(ख) स्थित कित्ता नम्बर ६२ को ११ धुर २ कन्वा जग्गा गैरकानुनी रूपमा अन्य व्यक्तिको नाममा दर्ता गरिएको थियो। उक्त जग्गा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहे पनि उनीहरूको स्वामित्वसम्बन्धी विवरण परिवर्तन गरी किशोरी धामी थारू र भोला धामी थारूको नाममा दर्ता गरिएको अनुसन्धानबाट खुलेको छ।
जग्गा दर्ता गर्ने क्रममा हुँदै नभएको तथ्य खडा गरी सरकारी अभिलेखमा रहेको विवरण सच्याइएको अख्तियारको आरोप छ। एउटा व्यक्तिको हकभोगमा रहेको जग्गा अर्कै व्यक्तिको नाममा कायम हुने गरी स्रेस्ता तथा जग्गाधनी पुर्जा तयार गरिएको आयोगले जनाएको छ। यस क्रममा सरकारी कागजातमा अनधिकृत रूपमा हेरफेर तथा थपघट गरी गलत विवरण समावेश गरिएको अख्तियारको दाबी छ।
यस प्रकरणमा भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेशकुमार झालाई प्रतिवादी बनाइएको छ।
त्यस्तै, ईश्वरपुर नगरपालिका वडा नम्बर १५ का तत्कालीन वडा सचिव राम गुलाम राय र तत्कालीन वडा अध्यक्ष कपिलदेव चौधरीविरुद्ध पनि मुद्दा दायर गरिएको छ। यसैगरी, गैरकानुनी रूपमा जग्गा प्राप्त गर्ने किशोरी धामी थारू र जग्गा प्राप्तिका लागि सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई समेत प्रतिवादी बनाइएको छ।
अख्तियारले जग्गा दर्ता प्रक्रियामा संलग्न मुख्य कसुरदारबाट भएको भ्रष्टाचारजन्य कार्यमा सहयोग गरी नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गरेको आरोपमा उनीहरूलाई मतियारका रूपमा अभियोग लगाएको जनाएको छ।


