
नयाँ अवतारमा आउँदै मारुति सुजुकी फ्रङ्क्स, ६ लाखभन्दा बढी युनिट बिक्री
काठमाडौं । मारुति सुजुकीको लोकप्रिय एसयूभी फ्रङ्क्स नयाँ अवतारमा आउने तयारीमा छ। कम्पनीले फ्रङ्क्सको फेसलिफ्ट मोडल परीक्षण गरिरहेको छ। हालै उक्त गाडी परीक्षणका क्रममा देखिएको छ।
मारुति सुजुकी फ्रङ्क्सले हालै कुल ६ लाख युनिट बिक्रीको आँकडा पार गरेको छ। बढ्दो लोकप्रियतालाई कायम राख्न कम्पनीले यसको फेसलिफ्ट संस्करण ल्याउने तयारी गरेको हो।
यसअघि सार्वजनिक भएका तस्बिरहरूमा जस्तै पछिल्लो पटक देखिएको फ्रङ्क्स फेसलिफ्ट पनि क्यामोफ्लाजले छोपिएको थियो। नयाँ मोडलमा परिमार्जित ग्रिल, अगाडि पार्किङ सेन्सर र पछाडिको डिस्क ब्रेकजस्ता नयाँ सुविधा थपिने अपेक्षा गरिएको छ।
गाडीको भित्री भागमा भने कालो र बरगन्डी रङको डुअल टोन डिजाइन रहनेछ। यो रङ संयोजन हालको मोडलमा पनि उपलब्ध छ। तर नयाँ संस्करणमा सिटका लागि नयाँ डिजाइनको लेदरेट अपहोल्स्ट्री प्रयोग गरिने बताइएको छ।
ड्यासबोर्डको समग्र डिजाइन भने हालको मोडलसँग मिल्दोजुल्दो हुनेछ। परीक्षणका क्रममा देखिएको संस्करणमा पनि हालको फ्रङ्क्समा जस्तै फ्लोटिङ टचस्क्रिन, एसी भेन्ट र स्टेयरिङ ह्विल देखिएको छ।
नयाँ फ्रङ्क्स सीएनजी भेरियन्टमा पनि उपलब्ध हुनेछ। यसको इन्जिनमा भने ठूलो परिवर्तन हुने सम्भावना छैन। नयाँ फेसलिफ्ट मोडलमा पहिले जस्तै १०० हर्सपावर क्षमता भएको १.० लिटर टर्बोचार्ज्ड इन्जिन उपलब्ध हुने जनाइएको छ।


