
नरेन्द्र मोदी मन्त्रिपरिषदको निर्णय :असममा नयाँ विमानस्थल बन्ने, भारत क्रेन र बुलडोजर उत्पादनको हब बनाउने
काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको भारतीय मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। बैठकले असममा नयाँ ग्रिनफिल्ड विमानस्थल निर्माण गर्ने प्रस्तावसहित चारवटा ठूला निर्णय गरेको हो।
बैठकको प्रमुख निर्णयअन्तर्गत असमको सिलचरमा नयाँ ग्रिनफिल्ड विमानस्थल निर्माण गर्ने प्रस्तावलाई स्वीकृति दिइएको छ।
प्रस्तावित नयाँ सिलचर विमानस्थलले मिजोरम, त्रिपुरा, नागाल्यान्ड र मणिपुरका लागि समेत महत्वपूर्ण सम्पर्क केन्द्रका रूपमा काम गर्ने अपेक्षा गरिएको छ। प्रस्तावित विमानस्थलमा १२ हजार ३५१ वर्गमिटर क्षेत्रफलको टर्मिनल भवन निर्माण गरिने जनाइएको छ।
क्रेन र बुलडोजर उत्पादनको हब बन्दै भारत
मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै केन्द्रीय मन्त्री अश्विनी वैष्णवले भारतलाई क्रेन, बुलडोजर तथा टनेल बोरिङ मेसिन उत्पादनको प्रमुख केन्द्र बनाउने सरकारको योजना रहेको बताएका छन्।
यस योजनाले भारतको पूर्वाधार निर्माण तथा औद्योगिक उत्पादन क्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ। साथै, निर्माण उपकरण उत्पादनमा आत्मनिर्भरता बढाउन र औद्योगिक क्षेत्रलाई थप मजबुत बनाउन सरकार अघि बढेको उनले जानकारी दिएका छन्।


