
आर.एम.सी. फुड्सलाई दुई राष्ट्रिय सम्मान, उत्कृष्ट करदाता र निर्यातकर्ता घोषित
काठमाडौं । आर.एम.सी. फुड्स प्रा.लि.ले दुईवटा महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेको छ। कम्पनी आर्थिक वर्ष २०८१/०८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर अन्तर्गत उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ। त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा नेपालबाट सबैभन्दा बढी रकमको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ सम्मान प्राप्त गरेको छ।
कम्पनीले मंसिर ७ गते २०८३ मा “कर न्याय र सुशासनको सुनिश्चितता: समृद्धिमा नागरिक सहभागिता” भन्ने नाराका साथ आयोजित राष्ट्रिय कर दिवस–२०८३ को विशेष समारोहमा उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको हो।
आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत मुकुन्द पोखरेल तथा आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालद्वारा संयुक्त रूपमा हस्ताक्षरित सम्मानपत्र कम्पनीका निर्देशक यश अग्रवाललाई प्रदान गरिएको थियो।
त्यसैगरी, मंसिर ९ गते काठमाडौंमा “औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार” भन्ने नाराका साथ आयोजित १२औँ उद्योग दिवसको विशेष समारोहमा कम्पनीलाई उत्कृष्ट स्वदेशी निर्यातकर्ताको सम्मान प्रदान गरिएको हो। भन्सार विभागको सिफारिसका आधारमा प्रदान गरिएको उक्त सम्मान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले सम्मानपत्र प्रदान गर्दै र मन्त्रालयका सचिव रुद्रसिंह तामाङले दोसल्ला ओढाएर सम्मान गरेका थिए।
आर.एम.सी. ग्रुपअन्तर्गत सञ्चालित आर.एम.सी. फुड्स प्रा.लि.ले बाराको जीतपुरस्थित अत्याधुनिक उद्योगमार्फत प्रशोधित खाद्य तेल, विशेषगरी Nutriplus ब्रान्डका उत्पादन लगायत गुणस्तरीय खाद्य सामग्री उत्पादन तथा निर्यात गर्दै आएको छ।
नेपाल उद्योग परिसंघ (CNI) का निवर्तमान अध्यक्षसमेत रहेका कम्पनीका प्रतिनिधि राजेश कुमार अग्रवालले नेपाल सरकारबाट प्राप्त सम्मानले स्वदेशी उत्पादनको गुणस्तर अभिवृद्धि तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहुँच विस्तार गर्न थप ऊर्जा प्रदान गरेको बताए।
उनले देशको व्यापार घाटा न्यूनीकरण तथा दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धनमा कम्पनीको प्रतिबद्धता निरन्तर रहने उल्लेख गरे।
कम्पनीले प्राप्त गरेको दोहोरो सम्मानले स्वदेशी उत्पादन तथा निर्यात प्रवर्द्धनमा आर.एम.सी. फुड्सको योगदानलाई थप प्रोत्साहन गरेको जनाएको छ।




