
मेट्रो ल्याब्सको निःशुल्क मधुमेह परीक्षण अभियान जारी, ५ हजारभन्दा बढीको परीक्षण गर्ने लक्ष्य
काठमाडौं- नयाँ वानेश्वर, काठमाडौंमा रहेको मेट्रोल्याब्स प्रालिले विश्व मधुमेह दिवसको अवसरमा सुरु गरेको बृहत् सामुदायिक निःशुल्क मधुमेह परीक्षण अभियानलाई निरन्तरता दिएको छ । ‘सुगर जाँच गरौँ, भविष्य जोगाऔँ’ भन्ने नारासहित सञ्चालन भइरहेको अभियानमार्फत ५ हजारभन्दा बढी व्यक्तिको निःशुल्क मधुमेह परीक्षण गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गरिएको अभियान डिसेम्बर ३१, २०२६ सम्म जारी रहने छ । अभियानमार्फत समुदायलाई करिब एक करोड रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने लक्ष्य रहेको मेट्रोल्याब्सले जनाएको छ ।
अभियानको औपचारिक शुभारम्भ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं मेट्रोल्याब्सका ब्रान्ड एम्बेसडर पारस खड्का र काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकालले रक्तनमुना दिएर गरेका थिए ।
अभियानअन्तर्गत सर्वसाधारणले रगतमा चिनीको तत्कालीन अवस्था मापन गर्ने ब्लड सुगर तथा पछिल्लो तीन महिनाको औसत रगतमा चिनीको मात्रा देखाउने एचबीए१सी (HbA1c) परीक्षण निःशुल्क गराउन सक्नेछन् । यी दुवै परीक्षणको नियमित शुल्क १ हजार ५०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
मधुमेहको जोखिम समयमै पहिचान गर्न आग्रह
अभियानको शुभारम्भका क्रममा क्यानका सचिव पारस खड्काले मधुमेहविरुद्धको लडाइँ रोग लागेपछि मात्र नभई समयमै सचेत भएर सुरु गर्नुपर्ने बताएका थिए। स्वस्थ खानपान, नियमित व्यायाम र समयमै स्वास्थ्य परीक्षण मधुमेहको जोखिम न्यूनीकरणका महत्त्वपूर्ण उपाय भएको उनको भनाइ थियो।
आफूले समेत परीक्षण गराएर अभियानमा सहभागिता जनाएको उल्लेख गर्दै उनले सर्वसाधारणलाई उपलब्ध निःशुल्क परीक्षण सुविधाको उपयोग गर्न तथा परिवारका सदस्य र साथीभाइलाई पनि नियमित स्वास्थ्य परीक्षणका लागि प्रेरित गर्न आग्रह गरेका थिए ।
त्यसैगरी, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकालले स्वस्थ समुदाय निर्माणका लागि नागरिकमा नियमित स्वास्थ्य परीक्षण गर्ने र रोगको समयमै पहिचान गर्ने बानीको विकास आवश्यक रहेको बताएका थिए ।
नेपालमा १२ लाखभन्दा बढी वयस्क मधुमेहबाट प्रभावित
अन्तर्राष्ट्रिय मधुमेह महासंघ (IDF) को अनुमानअनुसार नेपालमा करिब १२ लाख ६० हजार वयस्क मधुमेहबाट प्रभावित छन्। तीमध्ये ७० प्रतिशतभन्दा बढीलाई आफूलाई मधुमेह भएको जानकारीसमेत नभएको तथ्यांक मेट्रोल्याब्सले उल्लेख गरेको छ ।
मधुमेह प्रारम्भिक अवस्थामा स्पष्ट लक्षणबिना पनि विकसित हुन सक्ने भएकाले नियमित परीक्षणमार्फत समयमै पहिचान गर्नु महत्त्वपूर्ण मानिन्छ । समयमै रोग पहिचान गरी उचित व्यवस्थापन गर्न सकेमा यसबाट उत्पन्न हुन सक्ने गम्भीर स्वास्थ्य जटिलताको जोखिम कम गर्न सकिन्छ ।
मेट्रोल्याब्सका प्रबन्ध निर्देशक तथा जनस्वास्थ्यविद् शंकर देवकोटाले रोग लागेपछि उपचार खोज्नु मात्र पर्याप्त नभई रोग लाग्नुअघि नै सचेत हुनु र समयमै परीक्षण गराउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन् ।
जनस्वास्थ्यविद् शंकर देवकोटाका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको अभियानले नागरिकलाई गुणस्तरीय स्वास्थ्य परीक्षण सेवामा सहज पहुँच पुर्याउनुका साथै मधुमेहसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ । अभियानअन्तर्गत नियमित सेवामा प्रयोग हुँदै आएको प्रविधि र गुणस्तर मापदण्डअनुसार नै परीक्षण गरिने उनले जानकारी दिएका छन् ।
आधुनिक प्रविधिबाट दुई प्रकारका परीक्षण निःशुल्क
अभियानमा सहभागी सेवाग्राहीले दुई प्रकारका परीक्षण पूर्ण रूपमा निःशुल्क गराउन सक्नेछन् ।
१. ब्लड सुगर परीक्षण:खाली पेट (Fasting) वा खाना खाइसकेपछि जुनसुकै समयमा (Random) रगतमा चिनीको मात्रा परीक्षण गर्न सकिने छ ।
२. एचबीए१सी (HbA1c) परीक्षण– तीन महिनाको औसत सुगर: यस परीक्षणबाट पछिल्लो तीन महिनाको औसत रगतमा चिनीको मात्रा (Three-Month Average Blood Sugar) बारे जानकारी प्राप्त गर्न सकिने छ ।
कम्पनीका अनुसार ब्लड सुगर परीक्षण टोटल ल्याब अटोमेसन (TLA) रोबोटिक प्रणालीमार्फत गरिनेछ। त्यसैगरी, एचबीए१सी परीक्षण अमेरिकी खाद्य तथा औषधि प्रशासन (US-FDA) बाट स्वीकृत तथा NGSP (USA) र IFCC का मान्यताप्राप्त मापदण्डअनुरूपको पूर्ण स्वचालित एचपीएलसी (HPLC) प्रविधिबाट गरिनेछ ।
परीक्षण प्रक्रिया विशेषज्ञ प्याथोलोजिस्टको निगरानीमा सञ्चालन हुने कम्पनीले जनाएको छ। आधुनिक उपकरण र स्वचालित प्रणालीको प्रयोगले परीक्षण प्रक्रियालाई व्यवस्थित, छरितो र विश्वसनीय बनाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
मोबाइल एपमार्फत रिपोर्ट, निःशुल्क चिकित्सकीय परामर्श
अभियानमा सहभागी सेवाग्राहीले आफ्नो परीक्षण रिपोर्ट ‘My Health Now’ मोबाइल एपमार्फत प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार परीक्षण रिपोर्ट एआईआईएमएस (AIIMS), भारतबाट अध्ययन गरेका वरिष्ठ प्याथोलोजिस्ट (MBBS, MD Pathology) बाट प्रमाणित हुनेछ ।
त्यसैगरी, परीक्षण रिपोर्ट प्राप्त भएपछि सेवाग्राहीलाई निःशुल्क चिकित्सकीय परामर्शसमेत उपलब्ध गराइनेछ। यसबाट परीक्षणपछि आवश्यक स्वास्थ्य सल्लाह तथा आगामी स्वास्थ्य व्यवस्थापनबारे जानकारी प्राप्त गर्न सहज हुने कम्पनीको अपेक्षा छ ।
<strong>३० वर्षमाथिका नागरिकलाई विशेष प्राथमिकता</strong>
मेट्रोल्याब्सले विशेषगरी ३० वर्ष वा सोभन्दा माथिका नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गरेको छ । परिवारमा मधुमेहको इतिहास भएका, उच्च रक्तचाप वा कोलेस्ट्रोलको समस्या भएका, ज्येष्ठ नागरिक तथा गर्भावस्थामा मधुमेह देखिएका वा पहिले यस्तो समस्या भोगेका महिलालाई विशेष प्राथमिकताका साथ परीक्षण गराउन आग्रह गरिएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का नागरिकलाई विशेष प्राथमिकता दिइएको यस अभियानमा एक व्यक्तिले एक पटक मात्र निःशुल्क परीक्षण सेवा लिन सक्नेछन् ।
सेवा लिन इच्छुक नागरिकले ‘My Health Now’ मोबाइल एप डाउनलोड गरी आवश्यक प्रक्रिया पूरा गर्नु पर्नेछ ।
कहाँ र कहिलेसम्म उपलब्ध छ सेवा ?
निःशुल्क परीक्षण सेवा मेट्रोल्याब्सको नयाँ बानेश्वरस्थित प्रयोगशालामा उपलब्ध छ ।
– परीक्षण केन्द्र: मेट्रोल्याब्स, बीके कम्प्लेक्स, चौथो तला (बीआईसीसी अगाडि), नयाँ बानेश्वर, काठमाडौं।
– अभियान अवधि: नोभेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म ।
– उपलब्ध परीक्षण: ब्लड सुगर र एचबीए१सी (तीन महिनाको औसत सुगर)।
– शुल्क: पूर्ण रूपमा निःशुल्क (नियमित मूल्य १ हजार ५०० रुपैयाँ)।
– योग्यता: ३० वर्ष वा सोभन्दा माथिका नागरिक।
– सेवा सीमा: एक व्यक्तिले एक पटक मात्र।
– रिपोर्ट: My Health Now मोबाइल एपमार्फत।
– चिकित्सकीय परामर्श: निःशुल्क ।
मेट्रोल्याब्स ISO 9001:2015 प्रमाणित तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (NPHL) बाट स्वीकृत डायग्नोस्टिक प्रयोगशाला हो । कम्पनीले आफूलाई नेपालकै पहिलो पूर्ण डिजिटल डायग्नोस्टिक प्रयोगशालाका रूपमा स्थापित गरेको जनाएको छ ।
‘आजको सानो कदमले भोलिको ठूलो स्वास्थ्य जोखिम कम गर्न सक्छ । सुगर जाँच गरौँ, भविष्य जोगाऔँ’ भन्ने सन्देशसहित मेट्रोल्याब्सले सर्वसाधारण, परिवार, संघसंस्था तथा समुदायलाई अभियानमा सहभागी हुन र आफ्ना परिवारजन तथा साथीभाइलाई समेत मधुमेह परीक्षणका लागि प्रेरित गर्न अपिल गरेको छ ।
थप जानकारीका लागि ०१-५९२९४११ वा ९७०५४५९७०५ मा सम्पर्क गर्न सकिने छ । त्यस्तै [email protected] मा इमेल तथा www.metrolabs.com.np वेबसाइटमार्फत पनि जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।




