
सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई, साढे ३ करोडमा सम्झौता
रूपन्देही । वर्षौंदेखि फोहोर व्यवस्थापनको समस्या झेल्दै आएको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ। नगरपालिकाले रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवर्द्धन अफ नेपाल प्रालिसँग तीन करोड ६० लाख दुई हजार ९७१ रुपैयाँ ७ पैसा लागतमा सम्झौता गरेको हो।
सोमबार भएको सम्झौताअनुसार कम्पनीले नगर क्षेत्रको फोहोर सङ्कलन, ढुवानी, वर्गीकरण, अन्तिम व्यवस्थापन र समग्र सरसफाइको जिम्मेवारी लिनेछ। नगरपालिकाका अनुसार सम्झौता २०८३ मङ्सिर ७ देखि लागू भएको छ। यसको अवधि २०८८ मङ्सिर ६ गतेसम्म रहनेछ।
संविधानसभा सदस्य तथा नगरप्रमुख इस्तायिक अहमद खानले वर्षौंदेखिको फोहोर व्यवस्थापन समस्या समाधान गरी सिद्धार्थनगरलाई स्वच्छ, सफा र व्यवस्थित सहर बनाउने उद्देश्यले निजी क्षेत्रसँग सहकार्य गरिएको बताए।
उनले फोहोर व्यवस्थापन नगरवासीको प्रत्यक्ष सरोकार र नगरपालिकाको प्रमुख प्राथमिकताको विषय भएको उल्लेख गरे।
विसर्जनस्थलको अभावले वर्षौंदेखि समस्या
सिद्धार्थनगरमा नगर स्थापना भएदेखि नै फोहोर व्यवस्थापन प्रमुख चुनौती बन्दै आएको छ। बजार तथा बस्ती क्षेत्रमा नियमित फोहोर सङ्कलन र व्यवस्थापन नहुँदा सडक किनारमा फोहोर थुप्रिने, दुर्गन्ध फैलिने र सहरी सौन्दर्यमा असर पर्ने समस्या देखिँदै आएको थियो।
विशेषगरी फोहोर विसर्जनस्थलको अभाव र स्थानीयवासीको अवरोधले नगरपालिकालाई थप समस्यामा पारेको थियो।यसअघि नगरपालिकाले वडा नं. १ को मेउडिहवास्थित डण्डा नदी किनारमा फोहोर विसर्जन गर्दै आएको थियो। स्थानीयवासीको अवरोधपछि सोही वडाको सिद्धार्थ राजमार्गछेउ डण्डा नदी किनारमा फोहोर फाल्न थालिएको थियो।
तर, उक्त स्थानमा पनि फोहोर विसर्जन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि नगरपालिकाको समस्या थप जटिल बनेको थियो। फोहोर व्यवस्थापनको समस्याले नागरिकको स्वास्थ्य र वातावरणीय स्वच्छतामा असर पर्नुका साथै पर्यटकीय सहरका रूपमा भैरहवाको पहिचानमा समेत प्रभाव परेको थियो।
अनुगमन र कार्यान्वयनमा जोड
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीपिन क्षेत्रीले सिद्धार्थनगरलाई स्वच्छ, हराभरा र पर्यटकीय नगरका रूपमा विकास गर्ने लक्ष्यअनुरूप फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए। निजी क्षेत्रसँगको सहकार्यले फोहोर सङ्कलन, वर्गीकरण र अन्तिम व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि गरिएको पहलले सार्थकता पाएको बताए। सम्झौताअनुसार काम प्रभावकारी रूपमा अघि बढे नगरवासीले लामो समयदेखि भोग्दै आएको समस्या न्यूनीकरण हुने उनको विश्वास छ।
नगरपालिकाले सम्झौताको कार्यान्वयनसँगै नियमित अनुगमन र नागरिकको सहभागितालाई पनि प्राथमिकता दिएको जनाएको छ। पाँच वर्षका लागि निजी कम्पनीलाई जिम्मेवारी दिएसँगै सिद्धार्थनगरको वर्षौंदेखिको फोहोर व्यवस्थापन समस्या समाधान हुने अपेक्षा गरिएको छ। तर, यसको सफलता फोहोरको नियमित सङ्कलनमा मात्र नभई वर्गीकरण, प्रशोधन र वातावरणीय रूपमा सुरक्षित अन्तिम व्यवस्थापनको प्रभावकारितामा निर्भर हुनेछ।


