
प्रचण्डले लगाए सरकारले स्टक एक्सचेञ्जको लाइसेन्सका लागि लुप होल प्रयोग गरेको अनुमान



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् हाल विपक्षी दलका नेता पुष्प कमल दाहाल (प्रचण्ड) ले सरकारले गलत बाटो प्रयोग गरेर नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने तयारी गरेको खुलासा गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले बिहीबार संसदमा त्यस्तो अभिव्यक्ती दिएका हुन् ।
यस अघि सत्ताको बाघडोर हातमा लिएका उनले आफ्नो पालामा सुरु भएका कतिपय राम्रा कामहरुको समेत अवमूल्यन हुन पुगेको र वर्तमान सरकारले विगतमा अघि सारिएका अधिकांश राम्रा कामहरु ओझेलमा पारेको स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्री ओलिलाई समेत कटाक्ष गर्दै दाहालले थपे, ‘अहिलेका प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै ढुक्कले भनिरहनुभएको छ, प्रचण्ड र रविवाला सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार बनाउन पर्यो । मेरो नेतृत्वको सरकार ढलेसँगै जनता प्रष्ट थियो, अब खोजिने छैन, त्रिभुवन विश्वविद्यालयको जग्गा, अब रोकिने छ, ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया । अब अवरुद्ध हुनेछ, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान । अब खोजिनेछैनन्, अतिक्रमण गरिएका सरकारी जमिन । अब सामसुम हुनेछ, भुटानी शरणार्थी प्रकरण । त्यही भयो । त्यही बिन्दुबाट जनतामा कांग्रेस एमाले गठबन्धनप्रति मोहभंग पनि सुरु भयो ।’
वर्तमान सरकारले जनताको आवश्यकता पहिल्याउन नसकेको भाव व्यक्त गरेका उनले भने,‘सरकारले पछिल्ला सात महिनामा जनताको मनमा बस्ने एउटै काम गरेन तर जनताको मन बिझाउने सयौं काम गर्यो । अहिले त्यता विस्तृतमा जाने समय छैन । मेरो नेतृत्वको सरकारले भिआइपी कल्चर भत्काउँदै सुशासन र लोकतन्त्रको सर्भिसिङ सुरु गरेको थियो’, अध्यक्ष प्रचण्डले भने, ‘त्यसले जनतामा लोकतन्त्रप्रति भरोसा जगाएको थियो । जनतामा भरोसा जगाउने त्यही सर्भिसिङ नै कांग्रेस एमालेका लागि सबैभन्दा ठूलो आतंक भयो र तपाइहरु रातारात एक ठाउँमा उभिनुभयो ।’
सरकारी जग्गा हिनामिनाका काण्डहरुको छानविन हराएकोमा दाहालले दुख व्यक्त गरेका छन् । दाहाल भन्छन्, ‘अनाथ केटाकेटीका जमिनको समेत भ्रष्टाचारमाथि कारवाही कहाँ पुग्यो ? म दिन्छु उत्तर । मिलाइयो । चोख्याइयो । जोगाइयो । म सोध्छु, स्पिनिङ मिलको आईपिओमा नक्कली अडिटको काण्ड के भयो ? उत्तर मै दिन्छु, धितोपत्र बोर्डमैं मिलाइयो । तत्कालीन सेन्चुरी बैंकको अर्वौं दुरुपयोगको छानविन के भयो ? सामसुम पारियो । नक्कली भुटानी शरणार्थी काण्डमा बेचन झाको बयान के भयो ? पूरै नक्कली शरणार्थी काण्ड अब बेचन झामै सीमित भयो । बाँसबारी छालाजुत्ता कारखाना जग्गाको काण्ड के भयो ? त्यो पनि मिलाइयो, चोख्याइयो, जोगाइयो ।’
जनतको मतलाई अपराधी धुने डिटर्जेन्ट बनाइयो
सत्तापक्षका सांसदहरुलाई दुःख नमान्न आग्रह गरेका दाहालले भने, ‘तपाईहरुको समर्थन र मतलाई यो सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ । अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको छ । अब विचौलियाका आँखा गएका छन् धितोपत्र बोर्डमा । ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने चोर बाटो खोज्दै छ ।’ दूरसञ्चार फ्रिक्वेन्सीजस्तै नयाँ स्कटक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै उनले दिनुपर्ने भए कमिशनबाट होइन, खुला प्रतिष्पिर्धाबाट, अझ रकम बढाबढबाट नयाँ लाइसेन्सको अनुमति दिनुपर्ने र त्यसका लागि अहिलेको अवैध प्रक्रिया रद्द हुनुपर्ने बताए ।
उनले दिएका पछिल्ला अभिव्यक्तीले फेरी सत्ता पक्षले राजनीतिक रुपमा सरकारले जनताको व्यथामा मल्हम पट्टी लगाउँने काम गरि रहेको छ वा सत्ता प्रयोगको नाममा साच्चै केही पाक्दैछ कि भन्नेसम्मका विषयहरु उठाएको देखिन्छ ।


