
भारतबाट प्राप्त १८४ अर्बको ऋण तत्काल लिँदैनौँ, आवश्यकताअनुसार उपयोग गर्छौँ : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ तत्काल उपयोग नगर्ने स्पष्ट पारेका छन्। उक्त रकम आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्न सकिने ‘लाइन अफ क्रेडिट’ भएको उनले बताएका हुन्।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार भारतबाट नेपालले ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सुविधा प्राप्त गरेको छ। यसले नेपालको पूर्वाधार तथा ऊर्जा क्षेत्रको विकासमा वित्तीय स्रोतको अभाव हुन नदिने उनले बताए।
नेपालमा करिब ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक लगानी जुटाउन भारतीय ऋण सुविधा उपयोगी हुने बताए। विशेषगरी प्रसारण लाइनलगायत ऊर्जा पूर्वाधार निर्माणमा उक्त रकम प्रभावकारी रूपमा परिचालन गर्न सकिने उनको भनाइ छ।
वाग्लेले यसअघि अमेरिकी डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावका कारण नेपालको वित्तीय दायित्व बढ्ने गरेको उल्लेख गरे। भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प उपलब्ध हुनु महत्त्वपूर्ण उपलब्धि भएको उनले बताए।
यद्यपि, १८४ अर्ब रुपैयाँ बराबरको ऋणको ब्याजदर, भुक्तानी अवधि र ग्रेस पिरियडबारे प्राविधिक वार्ता हुन बाँकी रहेको उनले जानकारी दिए। ऋण डलरमा लिने वा भारतीय रुपैयाँमा लिने भन्ने विकल्पसमेत खुला रहेको उनको भनाइ छ।
यसअघि सडक निर्माणलगायतका आयोजनामा लाइन अफ क्रेडिट उपयोग गर्दा स्थानीय सामग्रीको प्रयोग र ठेकेदारसम्बन्धी सर्तका कारण समस्या देखिएको उल्लेख गर्दै उनले ऊर्जा क्षेत्रमा भने यसको उपयोग प्रभावकारी हुने विश्वास व्यक्त गरे।
बैठकमा अर्थमन्त्री वाग्लेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुईतर्फी हवाई रुट उपलब्ध हुनु नेपालको महत्त्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताए। नेपालले विगत १०–१२ वर्षदेखि गर्दै आएको प्रयासपछि एकतर्फी रहेको हवाई प्रवेशमार्गलाई दुईतर्फी बनाउन सफलता मिलेको उनको भनाइ छ।
यसबाट नेपालको नागरिक उड्डयन क्षेत्रको सुधार र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने उनले बताए। आगामी दिनमा महेन्द्रनगर र जनकपुरलगायतका नाकाबाट पनि अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए।
भारतले नेपालको भूमि किनेको तथा भारतको बागडोगरा विमानस्थलसँग जोडिएको १२५ किलोमिटर क्षेत्रसम्बन्धी विषयमा सञ्चारमाध्यममा आएका समाचारलाई उनले निराधार र भ्रामक बताए। त्यस्ता समाचारमा कुनै सत्यता नरहेको उनको दाबी थियो।
यसैगरी, सुनकोशी–सप्तकोशी उच्च बाँध आयोजनाबारे उठेका प्रश्नको जवाफ दिँदै वाग्लेले उक्त आयोजना नयाँ नभई सन् २००४ देखि नै नेपाल र भारतको संयुक्त अध्ययन प्रक्रियामा रहेको बताए। आयोजनाको अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि विराटनगरमा संयुक्त परियोजना कार्यालय स्थापना गरिएको उनले जानकारी दिए।
नेपाल–भारतबीच तयार गरिएको ‘विकसित भारत र समुन्नत नेपाल’ भिजन डकुमेन्टबारे पनि उनले स्पष्ट पारे। उक्त दस्तावेज दुई देशबीचको सहकार्यलाई व्यवस्थित, नियमित र संस्थागत बनाउने उद्देश्यले तयार गरिएको उनको भनाइ छ। दस्तावेजमा उल्लेख गरिएका १० वटा प्रमुख स्तम्भ नै यसको कार्यक्षेत्र र कार्यादेश रहेको भन्दै उनले छुट्टै पञ्चवर्षीय योजना आवश्यक नपर्ने बताए।
कनेक्टिभिटी, आर्थिक साझेदारी, शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद तथा पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले भिजन डकुमेन्ट तयार गरिएको उनले जानकारी दिए।
मंगलबारको अर्थ समिति बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि दफावार छलफलसमेत भएको थियो।


