
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो विभिन्न विधामा सहप्राध्यापक र उपप्राध्यापक
काठमाडौं । ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिस्ट्रारको कार्यालयले विभिन्न संकायमा सहप्राध्यापक र उपप्राध्यापक पदहरूका लागि दरखास्त आह्वान गरेको छ। प्रतिष्ठानले कार्यसम्पादन करार सेवामा पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गर्दै सोमबार औपचारिक सूचना प्रकाशित गरेको हो। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले आगामी ३० नोभेम्बर २०२६ भित्र आवेदन दिन सक्नेछन्।
प्रतिष्ठानद्वारा सार्वजनिक सूचना अनुसार युरोलोजी, जीआई सर्जरी, पेडियाट्रिक क्रिटिकल केयर, प्रसूति तथा स्त्रीरोग (अन्कोलोजी तथा ल्याप्रोस्कोपिक सर्जरी), न्युरोलोजी, इन्टरनल मेडिसिन, ग्यास्ट्रोएन्टेरोलोजी, हेमाटोलोजी, इन्डोक्राइनोलोजी, प्यालिएटिभ केयर, जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन, अर्थोपेडिक्स र अप्थाल्मोलोजी विधामा सहप्राध्यापक पदका लागि दरखास्त खुलाइएको छ। यसैगरी, कार्डियोलोजी, अर्थोपेडिक्स, पेडियाट्रिक अप्थाल्मोलोजी, साइकियाट्री, इन्टरनल मेडिसिन (जेरियाट्रिक), मेडिकल अन्कोलोजी, इएनटी तथा ‘एडल्ट हेल्थ नर्सिङ’ विधामा उपप्राध्यापक पदका लागि आवेदन माग गरिएको छ।
यी पदहरूका लागि सम्बन्धित चिकित्सा विधामा एमएस, एमडी, एमसीएच, डीएम वा फेलोसिप हासिल गरी नेपाल मेडिकल काउन्सिल (एनएमसी) मा विशेषज्ञ दर्ता भएको हुनुपर्ने न्यूनतम योग्यता तोकिएको छ। नर्सिङ विधातर्फको उपप्राध्यापकका लागि भने ‘एडल्ट हेल्थ’ वा ‘मेडिकल सर्जिकल नर्सिङ’ विषयमा स्नातकोत्तर तह उत्तीर्ण भई नेपाल नर्सिङ काउन्सिल (एनएनसी) मा दर्ता भएको हुनुपर्नेछ।
प्रतिष्ठानको नियमावली अनुसार योग्यता पुगेका उम्मेदवारहरूले आवेदन फारामका साथमा शैक्षिक योग्यताका प्रमाणपत्रहरू, व्यक्तिगत विवरण (बायोडाटा), हालसालै खिचिएको पासपोर्ट साइजको फोटो र निवेदन पेस गर्नुपर्नेछ। दरखास्त फाराम प्रतिष्ठानको कार्यालय वा आधिकारिक वेबसाइट ‘www.pahs.edu.np’ बाट प्राप्त गर्न सकिनेछ। अन्तर्वार्ताको समयमा सक्कल प्रमाणपत्रहरू अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने नियम छ। परीक्षाको मिति र समय भने पछि घोषणा गरिने प्रतिष्ठानले जनाएको छ।



