
विदेशी विनिमय सञ्चिति ४१६१ अर्ब १४ करोड, १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने
काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा विदेशी विनिमय सञ्चिति करिब ७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशी सञ्चिति ६.८ प्रतिशतले बढेको हो ।
केन्द्रीय बैंकका अनुसार २०८३ असार मसान्तमा ३८९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले वृद्धि भई २०८३ असोज मसान्तमा रु.४१६१ अर्ब १४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ असोज मसान्तमा ८.२ प्रतिशतले वृद्धि भई २७ अर्ब ३९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८३ असार मसान्तमा रु.३४७३ अर्ब १९ करोड रहेकोमा २०८३ असोज मसान्तमा ६.४ प्रतिशतले वृद्धि भई रु.३६९५ अर्ब २४ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा रु.४२४ अर्ब ४८ करोड रहेकोमा २०८३ असोज मसान्तमा ९.८ प्रतिशतले वद्धि भई रु.४६५ अर्ब ९० करोड कायम भएको छ । २०८३ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८३÷८४ को तीन महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८३ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६३ प्रतिशत, १४३.७ प्रतिशत र ४४.८ प्रतिशत रहेका छन् । २०८३ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका थिए ।


