
४ महिनामा साढे १९ अर्ब बराबर एफडीआई प्रतिबद्धता
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चौमासिकममा साढे १९ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मा १९ अर्ब ५५ करोड २८ लाख रुपैयाँ बराबर लगानी स्वीकृत भएको हो ।
यस अवधिमा कुल ४९७ उद्योग दर्ता भएका छन् । कात्तिकका मात्र ८५ उद्योग दर्ता भएका छन् । जसमार्फत ३ अर्ब ४२ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको छ । गत आव कात्तिकसम्म ३६ अर्ब ६८ करोड बराबर एफडीआई स्वीकृत भएको थियो । चालु आव गत आवको तुलनामा झन्डै आधा कम भएको हो । चालु आव स्वीकृत एफडीआईमध्ये ४ ठूला र २ मझौला उद्योगमा आएको छ । बाँकी ४९१ साना प्रकृतिका उद्योगमा लगानी स्वीकृत भएको विभागले जनाएको ।
कात्तिकमा १ ठूलो र बाँकी सबै साना उद्योग दर्ता भएका छन् । यस वर्ष आएको लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै रकम पर्यटनमूलक उद्योगमा ८ अर्ब ६६ करोड बराबर आएको छ । कुल १४६ उद्योग पर्यटनमूलक उद्योगका रूपमा दर्ता भएका छन् । त्यस्तै ऊर्जामूलक ३ उद्योग दर्ता भएकोमा लगानी प्रतिबद्धता भने ४ अर्ब ५ करोड बराबर आएको छ । सेवामूलक उद्योगमा कुल ४४ दर्ता भएकोमा लगानी प्रतिबद्धता ३ अर्ब ९५ करोड बराबर आएको विभागले जनाएको छ । संख्यात्मक रूपमा सबैभन्दा धेरै उद्योग सूचना प्रविधिमा २७२ वटा दर्ता भएको तथ्यांक छ । यस वर्ष उत्पादनमूलक २९ उद्योग दर्ता भएकोमा १ अर्ब ७५ करोड बराबर लगानी प्रतिबद्धता आएको देखिएको छ ।


