
सुदूरपश्चिमका उद्योगले क्षमताको आधामात्रै उत्पादन गर्दै
धनगढी । सुदूरपश्चिम प्रदेशमा उद्योगहरूको उत्पादन बढ्न थाले पनि अधिकांश उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनअनुसार प्रदेशका नमुना छनोटमा परेका उद्योगले औसत ५१.२९ प्रतिशत मात्रै उत्पादन क्षमता उपयोग गरेका छन् ।
राष्ट्र बैंकले कात्तिकमा सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले प्रदेशका अधिकांश उद्योगको उत्पादनमा वृद्धि देखाएको छ । कङ्क्रिट, साबुन र जीआई तार उद्योगको उत्पादन भने घटेको छ ।
राष्ट्र बैंकले प्रदेशका खाने तेल, बिस्कुट, गहुँको पिठो, चामल, चिनी, साबुन, इँटा, कङ्क्रिट ब्लक, जीआई तार तथा रोजिन एन्ड टर्पेन्टाइनलगायत १४ वटा उद्योगको तथ्यांक अध्ययन गरेको थियो ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा गहुँको पिठोको उत्पादन १३७.१७ प्रतिशत र चिनीको उत्पादन १३४.६७ प्रतिशतले बढेको छ । त्यस्तै इँटाको उत्पादन शतप्रतिशत, रोजिनको २९.४८ प्रतिशत, चामलको ७.३९ प्रतिशत र तोरीको तेलको उत्पादन १.२७ प्रतिशतले वृद्धि भएको छ ।
यता कङ्क्रिटको उत्पादन ५२.९४ प्रतिशत, साबुनको ४५.७४ प्रतिशत र जीआई तारको उत्पादन ६.०२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । बिस्कुटको तथ्यांक पहिलो पटक संकलन गरिएकाले यसको उत्पादन प्रवृत्तिबारे प्रतिवेदनमा उल्लेख गरिएको छैन ।
उत्पादन क्षमता उपयोगको अवस्था हेर्दा जीआई तार, इँटा र खाने तेल उद्योगले अधिकतम क्षमता उपयोग गरेका छन् । साबुन, रोजिन र बिस्कुट उत्पादन गर्ने उद्योगको क्षमता उपयोग न्यून छ । यसले उत्पादन बढे पनि प्रदेशका उद्योगहरूमा पर्याप्त उत्पादन क्षमता उपयोग हुन नसकेको देखाउँछ ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ को चैतसम्म सुदूरपश्चिममा एक हजार ५९९ उद्योग दर्ता भएका छन् । ती उद्योगमा कुल दुई अर्ब २२ करोड ३४ लाख रुपैयाँ लगानी छ । जसमध्ये स्थिर पुँजी एक अर्ब ३४ करोड तीन लाख र चालु पुँजी ८८ करोड ३५ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशमा दर्ता भएका उद्योगमार्फत पाँच हजार ४५२ जनाले रोजगारी पाएका छन् । राष्ट्र बैंकको नमुना अध्ययनमा समेटिएका उद्योगमा भने एक हजार ६७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तीमध्ये २९९ जना भारतीय नागरिक छन् । अध्ययनमा समेटिएका उद्योगमा कार्यरत महिला ११.८० प्रतिशत र पुरुष ८८.२० प्रतिशत छन् ।


