
हिमालयन बैंक अध्यक्षविरुद्ध उजुरी दिएको समाचारको कर्मचारी संगठनद्वारा खण्डन
काठमाडौं । हिमालयन बैंकका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको भन्ने समाचारको हिमालयन बैंक कर्मचारी संगठनले खण्डन गरेको छ। संगठनका अध्यक्ष सुमनकुमार मिश्रले विज्ञप्ति जारी गर्दै बैंकका अध्यक्षविरुद्ध कुनै पनि निकायमा उजुरी नदिएको स्पष्ट पारेका हुन्।
मंसिर २ गते आर्थिक राष्ट्रिय दैनिकको वर्ष १७, अंक ५०६२ को पहिलो पृष्ठमा प्रकाशित ‘हिमालयन बैंकका अध्यक्ष अर्यालविरुद्ध अख्तियारमा उजुरी’ शीर्षकको समाचारमा कर्मचारी संगठनको नाम जोडिएकोप्रति संगठनले आपत्ति जनाएको छ।
समाचारमा अख्तियारमा उजुरी दिएको भनी संगठनको नाम उल्लेख हुनु झुटो भएको भन्दै विज्ञप्तिमार्फत त्यसको खण्डन गरिएको छ। संगठनले बैंकका अध्यक्षविरुद्ध आफूहरूले कुनै पनि निकायमा उजुरी नदिएको जानकारी सञ्चारमाध्यम तथा पत्रकारहरूलाई गराएको छ।



