
मुक्तिनाथ म्युचुअल फण्ड २ नेप्सेमा सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार सुरु हुने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ (MNMF2) का सेयर सूचीकृत भएको छ । आज मङ्सिर १ गते नेप्से र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच उक्त सामूहिक लगानी कोषको सूचीकरण सम्झौता सम्पन्न भएको हो।
नेप्सेको जारी सूचनाअनुसार मुक्तिनाथ सामूहिक लगानी कोषअन्तर्गतको प्रति इकाई अङ्कित मूल्य १० रुपैयाँ कायम भएका कुल १२ करोड ५० लाख (१२,५०,००,०००) इकाई नेप्सेमा सूचीकृत भएका हुन्। धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम कात्तिक १७ गतेको निर्णयानुसार यी इकाईहरू सूचीकृत गरिएको नेप्सेले जनाएको छ।
सम्झौताअनुसार सूचीकृत भएका यी इकाईहरूको दोस्रो बजारमा कारोबार भोलि मङ्सिर २ गते देखि सुरु हुनेछ। मुक्तिनाथ क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि खुला बिक्री आह्वान गरी वितरण गरेको यस फण्डको प्रधान कार्यालय काठमाडौँको नक्सालमा रहेको छ।



