
पार्क बनाउन देउसीभैलो, साढे तीन लाख सङ्कलन
तनहुँ । नेपालको राष्ट्रिय झण्डासहितको विशाल पार्क निर्माणका लागि तनहुँमा देउसीभैलो अभियान सञ्चालन गरिएको छ। बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा निर्माणाधीन झण्डा पार्कलाई पूर्णता दिन आवश्यक रकम जुटाउने उद्देश्यले स्थानीयवासीले देउसीभैलो अभियान सुरु गरेका हुन्।
अभियानअन्तर्गत बन्दीपुरका विभिन्न ठाउँमा सञ्चालित देउसीभैलोबाट रु तीन लाख ५० हजारभन्दा बढी रकम सङ्कलन भएको छ। राष्ट्रिय झण्डाको महत्व र पार्क निर्माणको उद्देश्यलाई प्रचार गर्दै स्थानीयवासी बजारका विभिन्न स्थानमा पुगेर सहयोग सङ्कलनमा जुटेका छन्। झण्डा पार्क निर्माण समितिका सचिव टीकाराम गिरीले जिल्लाका विभिन्न ठाउँमा पुगेर देउसीभैलो सञ्चालन गरिने जानकारी दिए।
सो अभियानअन्तर्गत आज तनहुँको सदरमुकाम दमौलीमा झण्डा प्रदर्शनसहित देउसीभैलो खेलिएको छ । निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार पार्क निर्माणका लागि आवश्यक स्रोत जुटाउन देउसीभैलो अभियान सञ्चालन गरिएको हो।
बन्दीपुर–१ तल्लोटारमा निर्माण भइरहेको पार्कमा विशाल राष्ट्रिय झण्डा राख्ने योजना छ। पार्कमा ६७ फिट अग्लो झण्डाको स्तम्भ निर्माण गरी ४५ फिट लम्बाइ र ३० फिट चौडाइको राष्ट्रिय झण्डा फहराउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरव र पहिचानसँग जोडिएको यस योजनालाई स्थानीयवासीले सामूहिक अभियानका रूपमा अघि बढाएका छन्।
पार्क निर्माणका क्रममा हालसम्म रु १५ लाखभन्दा बढीको काम श्रमदानबाट सम्पन्न भइसकेको संयोजक रानाले जानकारी दिए। स्थानीयवासीको सक्रिय सहभागिता र सामूहिक श्रमबाट निर्माणको काम अघि बढाइएको हो । आर्थिक स्रोतको अभावका बाबजुद स्थानीयको उत्साह र सहयोगले पार्क निर्माणलाई निरन्तरता दिइएको छ।
पृथ्वीराजमार्ग नजिकै पार्क निर्माण भइरहेको हुँदा यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ। पोखरा र काठमाडौँ आवतजावत गर्ने यात्रु तथा पर्यटकले सहजै अवलोकन गर्न सक्ने स्थानमा पार्क बन्ने भएकाले यसले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।
पार्क निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दासँगै बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि यो आकर्षणको केन्द्र बन्न सक्नेछ। विशेषगरी पृथ्वीराजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई केही समय रोकिएर अवलोकन गर्न मिल्ने स्थलका रूपमा विकास गर्ने योजना छ।


