
नेपाल टेलिकमको खुद मुनाफा ३७.३५ प्रतिशतले बढ्यो,पहिलो त्रैमासमा १ अर्ब ८२ करोड खुद नाफा
काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार यस त्रैमासमा प्राकृतिक प्रकोपका कारण सेवामा केही असर परे पनि कम्पनीको खुद मुनाफामा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ रहेको थियो, जसको तुलनामा खुद मुनाफा ३७.३५ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ, जुन गत वर्षको सोही अवधिको ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँको तुलनामा १२ लाख ६० हजार रुपैयाँ अर्थात् ०.०१ प्रतिशत ले सामान्य कमी हो। यद्यपि, अन्य हुने आम्दानीसहित कुल आय ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको ९ अर्ब ४७ करोड १० लाख रुपैयाँको तुलनामा ६६ लाख ४६ हजार रुपैयाँले बढी हो। जीएसएम सेवातर्फको कार्य सञ्चालन राजस्वमा १० लाख १६ हजार रुपैयाँ र एफटीटीएच सेवातर्फ ४ करोड ४० लाख रुपैयाँले वृद्धि भएको छ।
कम मूल्य तथा ठूला मोबाइल डाटा प्याकेजको बढ्दो प्रयोगले राजस्व बढाउन सहयोग पुर्याएको छ। कम्पनीको प्रमुख वित्तीय सूचकअनुसार प्रतिशेयर आम्दानी वार्षिक ४०.४५ रुपैयाँ कायम भएको छ। ब्याज, कर, ह्रास र डिप्रिसिएसन पूर्वको मुनाफा भने ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ, जुन गत वर्ष ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ थियो। ह्रास खर्चमा कमी र मूल्यह्रास क्षति फिर्ता समायोजन भएका कारण समग्र खुद खर्चमा ४८ करोड १२ लाख रुपैयाँले कमी आएको छ।
यद्यपि कम्पनीले खुद मुनाफामा उत्साहजनक प्रगति हासिल गरेको छ, तथापि व्यवस्थापनले यस त्रैमासमा सामना गर्नुपर्र्ने प्रमुख व्यावसायिक समस्या तथा चुनौतीहरूप्रति स्पष्ट पारेको छ. चालु आर्थिक वर्षको पहिलो त्रैमास अन्तर्गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण प्रभावित सेवाग्राहीहरूलाई कम्पनीले १७ दिनको लागि निःशुल्क डेटा तथा भ्वाइस सेवा उपलब्ध गराएको थियो।
यस प्राकृतिक विपद्का कारण सो क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध हुनु तथा व्यावसायिक गतिविधिमा व्यवधान उत्पन्न हुन गई सेवा बिक्रीमा कमी आएको छ। त्यसैगरी, असोज २५ गते आएको बुढीगण्डकी बाढीका कारण समेत सेवा सञ्चालनमा नकारात्मक प्रभाव पर्न गएको छ। यसरी प्राकृतिक प्रकोपका कारण प्रभावित क्षेत्रमा निःशुल्क सेवा उपलब्ध गराउनु पर्दा र सेवा अवरुद्ध हुँदा सेवा बिक्रीबाट प्राप्त हुने राजस्वमा प्रत्यक्ष प्रतिकूल असर परेको छ। यसबाहेक, बढी लागत लाग्ने तथा कम प्रतिफल प्राप्त हुने विकट एवं दुर्गम स्थानहरूमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यलाई प्राथमिकतामा राखेर काम गर्नु पर्दा वित्तीय दबाब र चुनौती थपिने गरेको छ. साथै, यस वर्ष तलब स्केलमा भएको वृद्धिका कारण कर्मचारी खर्चमा समेत वृद्धि भएको छ।


