
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । सुनसरी, धनुषा, सुर्खेत र कञ्चनपुरका विभिन्न ठाउँबाट ९ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनताबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय अबिनाश शंकर समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी सुनसरीकै कोशी गाउँपालिका–८ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६० ट्याब्लेट सहित उदयपुर चौदण्डीगढी नगरपालिका–३ बस्ने २९ वर्षीय हेम कुमार विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ भने कोशी गाउँपालिका–१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित झापा दमक नगरपालिका–४ ताराबारी बस्ने २७ वर्षीय नारायण प्रसाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उता, धनुषाको विदेह नगरपालिका–१ ठाडी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्राम सहित शहीदनगर नगरपालिका–६ बस्ने २० वर्षीय प्रिन्स कुमार मण्डललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ कालागाउँ बस्ने २४ वर्षीय भुवन बस्नेत र सोही नगरपालिका–९ लाटिकोइली बस्ने २६ वर्षीया सनम सुनार रहेका छन् ।
प्रहरी चौकी सुब्बाकुना समेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२–००१ ख १०४१ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका–२ बनखेत बस्ने २५ वर्षीय प्रकाश साउँद र २२ वर्षीय छबि साउँद रहेका छन् ।


