
‘राजखानी’ को माला लगाएर भिडिओ बनाउने मासु व्यवसायीलाई कारवाही
रुपन्देही । व्यवसायको मर्यादा विपरीत गतिविधि गरेको भन्दै तिलोत्तमा नगरपालिकाले मासु व्यवसायी ऋषिराम रानाभाटलाई कारवाही गरेको छ । तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित आँधीखोला फ्रेस हाउसका सञ्चालक रानाभाटलाई नगरपालिकाले दश हजार रुपैयाँ जरिवाना सहित कारवाही गरेको हो ।
तिहारमा खसीबोकाको राजखानीको माला बनाएर बनाएको उनको भिडियो भाइरल भएको थियो । भिडियो भाइरल भएसँगै उनको चौतर्फी आलोचना समेत भएको थियो । भ्यूज र लाइकका लागि व्यापारिक मर्यादा तथा जनस्वास्थ्यको संवेदनशीलतालाई बेवास्ता गर्दै सामग्री बनाउने प्रवृत्ति बढिरहेको भन्दै सरोकारवालाहरूले यस्ता गतिविधिमाथि निगरानी बढाउन स्थानीय सरकारको ध्यानाकर्षण गराएका थिए ।
यसैक्रममा शुक्रबार तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले व्यवसायी रानाभाटलाई सचेत गराउँदै १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको नगरपालिकाका प्रशासकीय अधिकृत मुक्तिराम खनालले जानकारी दिए ।
नगरपालिकाले मासु पसल सञ्चालन गर्दा अनिवार्य रूपमा खाद्य स्वच्छता तथा निर्धारित मापदण्ड पालना गर्न निर्देशन दिएको छ । साथै, आगामी दिनमा जनस्वास्थ्यमा असर पुग्ने तथा व्यवसायको मर्यादाविपरीतका गतिविधि नगर्न चेतावनीसमेत दिएको छ । आफ्नो गल्ती स्वीकार गर्दै व्यवसायी रानाभाटले सार्वजनिक रूपमा माफी मागेका छन् ।
आगामी दिनमा व्यवसायलाई मर्यादित, जिम्मेवार र जवाफदेही ढंगले सञ्चालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको बताइएको छ । यसअघि उक्त घटनाकै विषयलाई लिएर मासु व्यवसायी संघ रुपन्देहीले पनि अनुगमन गरी व्यवसायी रानाभाटलाई जरिवाना गरेको थियो ।
भिडियो सार्वजनिक भएपछि विवाद बढेपछि बिहीबार मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापा र महासचिव थानेश्वर सुवेदीले व्यवसायी भट्टराईसँग छलफल गरी गल्ती स्वीकार गर्न लगाएको बताएका छन् ।
भट्टराईले पनि आफ्नो गतिविधि गलत भएको स्वीकार गर्दै माफी मागेका छन् । उनले सामान्य तरिकाले भिडियो बनाउने क्रममा ठूलो गल्ती भएको महसुस गरेको भन्दै आगामी दिनमा यस्तो गतिविधि नदोहोर्याउने प्रतिबद्धता जनाए ।
‘गल्ती मानवीय स्वभाव हो, तर त्यसलाई महसुस गर्नु ठूलो कुरा हो । मैले आफ्नो कमजोरी महसुस गरेको छु । आगामी दिनहरूमा सेवाग्राही र उपभोक्ताको स्वास्थ्यप्रति अझ गम्भीर र जवाफदेही बनेर आफ्नो पेशा तथा व्यवसायलाई गुणस्तरीय र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले माफी माग्दै भनेका छन् ।
यसैबीच उपभोक्ता हित संरक्षण मञ्च नेपालले ‘सफा मासु, स्वस्थ बुटवल’ अभियानमार्फत मासु पसल सञ्चालन गर्दा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई आग्रह गर्दै आएको छ ।
मञ्चले मासु पसलमा एप्रोन, टोपी, मास्क र पञ्जा अनिवार्य प्रयोग गर्न, मूल्यसूची तथा इजाजतपत्र देखिने गरी राख्न र जाँच गरिएको स्वच्छ मासु मात्रै बिक्री गर्न आग्रह गरेको छ । मासु पसलमा खैनी, सुर्ती र चुरोट निषेध गर्नुपर्ने सन्देश पनि अभियानमार्फत दिइएको छ ।


