
लुम्बिनीले टस जित्यो, विराटनगरलाई पहिले ब्याटिङको निम्तो
काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
विराटनगर किंग्स र लुम्बिनीबीच आज एक मात्र खेल हुँदैछ । आजको खेलमा ६ खेलमा तीन जित र तीन हारसहित ६ अंक रहेको विराटनगर प्लेअफमा पुग्न जित्नैपर्ने दबाबमा छ । यस खेलमा पराजित भएमा बाहिरिनेछ र काठमान्डु र चितवन स्वत: प्लेअफमा पुग्नेछन् ।
यस्तै, ६ खेल खेलेको लुम्बिनी भने चार जित, एक नतिजाबिहीन र एक हारसहित ९ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ । लुम्बिनी प्लेअफ पक्का गरिसकेको छ । लुम्बिनी विजयी भएमा शीर्षस्थानमा फिनिस गर्नेछ र पहिलो क्वालिफायरमा स्थान पक्का हुनेछ । लुम्बिनीले एक परिवर्तन गरेको छ । शमिम होसेनको स्थानमा अमेरिकी अलराउन्डर अली शेख खेल्दै छन् ।
विराटनगरले दुई परिवर्तन गरेको छ । प्रतिश जिसीको स्थानमा सुजन थपलिया खेल्दै छन् भने एन्जेलो म्याथ्युजको स्थानमा शुभम रन्जाने खेल्दै छन् ।


