
उद्योगमन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच भेट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच शिष्टाचार भेटवार्ता भएको छ । भारतको विशाखापटनममा जारी भारतीय उद्योग परिसंघ ९सिआइआई० को ३१औँ साझेदारी सम्मेलन, २०२६ मा सहभागी हुन पुगेका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् ।
भेटका क्रममा नेपाल र आन्ध्र प्रदेशबीच द्विपक्षीय व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन तथा धार्मिक एवं आरोग्य पर्यटनको विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । मन्त्री साहले नेपाल जलविद्युत्, पर्यटन, स्वच्छ ऊर्जा तथा प्रविधि विकासका क्षेत्रमा लगानीका लागि उपयुक्त गन्तव्य रहेको उल्लेख गर्दै आर्थिक साझेदारी विस्तार गर्न आन्ध्र प्रदेशका लगानीकर्तालाई आग्रह गरेका थिए ।
जवाफमा मुख्यमन्त्री नायडुले मन्त्री साहले उठाएका विषयमा आन्ध्र प्रदेश सरकार सकारात्मक रहेको बताउँदै क्षेत्रीय सहकार्य र आर्थिक साझेदारी विस्तार गर्न इच्छुक रहेको बताएका थिए । भेटलाई नेपाल र आन्ध्र प्रदेशबीच व्यापार, लगानी तथा पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ ।


