
बल्खु–हेटौँडा रुटमा बिहान ५ बजेपछि चल्न र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने नियम लागू
काठमाडौँ । काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी गर्दै उक्त रुटमा चल्ने भाडाका तथा सार्वजनिक सवारीसाधन बिहान ५ बजेपछि मात्रै बल्खुबाट छुट्न पाउने व्यवस्था गरेको हो।
यसैगरी बेलुका ८ बजेसम्म सवारीसाधन फर्पिङस्थित प्रहरी चेकपोष्ट पुगिसक्नुपर्ने समयसीमा निर्धारण गरिएको छ। पछिल्लो समय यो सडक खण्डमा सवारी दुर्घटना र मानवीय क्षति बढ्दै गएपछि यात्रुको सुरक्षालाई मद्देनजर गर्दै जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए।
प्रशासनले साँघुरो तथा घुम्तीयुक्त बाटो, रातिको अँध्यारो यात्रा, चालकको अनिद्रा, तीव्र गति र यान्त्रिक गडबडीलाई दुर्घटनाको मुख्य कारण औँल्याएको छ।
अबदेखि सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्र सञ्चालन गर्न तथा रुटमा पर्ने प्रहरी र ट्राफिक प्रहरीलाई प्रत्येक गाडीको अनिवार्य जाँच गर्न समेत कडा निर्देशन दिइएको छ।



