
इटालीसँग फ्रान्स पराजित
काठमाडौं । जिनेदिन जिदानको प्रशिक्षणमा फ्रान्सले पहिलो हार बेहोरेको छ। युइएफए नेसन्स लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा फ्रान्स इटालीसँग ३–१ गोलले पराजित भएको हो।
इटालीको सान सिरोमा फ्रान्सले सुरुवाती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन। खेलको सुरु भएको १० मिनेटमा नै इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माको गल्तीको फाइदा उठाउँदै माइकल ओलिसेले गोल गरे। तर इटालीले २६ औं मिनेटमा खेल बराबरीमा ल्यायो। पियो एस्पोसिटोले निकोलो काम्बियागीको पासमा उत्कृष्ट फिनिस गर्दै गोल गरे।
इटालीका सेबास्टियानो एस्पोसिटो पेनाल्टीमा गोल गर्न चुके। तर फेडेरिको डिमार्कोको पासमा डेभिडे फ्राटेसीले ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि ७५ औं प्राप्त अर्को पेनाल्टीमा पियो एस्पोसिटोले गोल गर्दै व्यक्तिगत दोस्रो तथा इटालीको तेस्रो गोल थपे।
२१ वर्षीय इन्टर मिलानका स्ट्राइकर एस्पोसिटोले राष्ट्रिय टोलीबाट १४ खेलमा ९ गोल गरिसकेका छन्।यो जितसँगै इटालीले सन् १९६२ पछि पहिलोपटक घरेलु मैदानमा फ्रान्सलाई हराएको छ। विश्वकपपछि डिडियर डेसच्याम्प्सको स्थानमा फ्रान्सको जिम्मेवारी सम्हालेका जिदानले यसअघि ३ जित र १ बराबरीको नतिजा निकालेका थिए। तर पाँचौं खेलमा उनको अपराजित यात्रा टुंगिएको छ।
समूह ए१ मा इटाली १० अंकसहित शीर्षस्थानमा उक्लिएको छ। समान १० अंक रहेको फ्रान्स हेड टु हेडमा पछि पर्दै दोस्रो स्थानमा छ। बेल्जियम ९ अंकसहित तेस्रो स्थानमा छ। बेल्जियमले यसअघि टर्कीलाई २–१ ले पराजित गरेको थियो।
समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। आइतबार हुने अन्तिम खेलमा बेल्जियमले इटालीसँग खेल्दा फ्रान्सले घरेलु मैदानमा टर्कीको सामना गर्नेछ।


