
हिन्दुकुश हिमालय क्षेत्रको जलवायु संकट समाधान गर्न क्षेत्रीय सहकार्य आवश्यक : कोप–३१ मा नेपालको जोड
काठमाडौं । टर्कीको अन्तालियामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) को साइड इभेन्टका रूपमा नेपाल प्याभिलियनमा आयोजित एक विशेष सत्रमा हिन्दुकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्सँग जुध्न क्षेत्रीय सहकार्यको संरचनालाई थप बलियो बनाउनुपर्नेमा जोड दिइएको छ।
‘हिन्दुकुश हिमालयका लागि क्षेत्रीय सहकार्य संयन्त्र: सीमापार जलवायु विपद्बाट सिकिएका पाठहरू’ विषयक उक्त सत्रमा मुख्य सम्बोधन (Keynote Address) गर्दै वक्ताहरूले जलवायु सङ्कटासन्नतालगायतका साझा चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न र विपद् उत्थानशीलता निर्माण गर्न क्षेत्रीय सहकार्यको तत्काल आवश्यकता रहेको औँल्याएका हुन्।
सम्बोधनका क्रममा पृथ्वीको पारिस्थितिकीय स्वास्थ्य जोगाउन तथा मानव जातिको सामूहिक कल्याणका लागि क्षेत्रीय र विश्वव्यापी ऐक्यबद्धतालाई अझ गहिरो बनाउँदै बहुसरोकारवाला साझेदारीलाई सुदृढ पार्नुपर्ने महत्त्वमाथि प्रकाश पारिएको थियो। यसका साथै, जलवायु न्यूनीकरण, अनुकूलन, प्रविधि हस्तान्तरण तथा ज्ञान र सफल अभ्यासहरूको आदानप्रदानमा नीतिगत समन्वय र सहकार्य प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ।
कोप–३१ मा सहभागी नीति निर्माताहरू, क्षेत्रीय विज्ञहरू, जलवायु अभियन्ता तथा विभिन्न प्रतिनिधिहरूको सहभागिता रहेको उक्त सत्रमा हिमाली क्षेत्रले भोगिरहेका सीमापार जलवायु जोखिम र तिनको साझा समाधानका उपायहरूबारे विस्तृत छलफल भएको थियो।


