
चिसापानीगढी दुर्घटना : ज्यान गुमाउने सबैकाे परिचय खुल्यो, १० जना एउटै गाउँका
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउने चालकसहित ११ जनाको पहिचान खुलेको छ।
घटनास्थलबाट उद्धार टोलीले ५ महिला र ६ पुरुष गरी ११ जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए।
मृतकमध्ये १० जना सर्लाहीकै चक्रघट्टा गाउँपालिका-४, सुन्दरपुर टोलका बासिन्दा रहेको उनले बताए।दुर्घटनामा एकै परिवारका आमा र तीन छोरी तथा अर्को परिवारका श्रीमान्–श्रीमतीकै मृत्यु भएको हो।
ज्यान गुमाउनेहरूमा ३५ वर्षीया पुनम यादव र उनका तीन छोरीहरू क्रमशः १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव र ५ वर्षीया दिपिका यादव छन्। यस्तै ३६ वर्षीय गुड्डु यादव र उनकी श्रीमती ३२ वर्षीया गायत्रीदेवीको मृत्यु भएको छ। यस्तै २६ वर्षीय बिकेश यादव, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पनि ज्यान गएको प्रवक्ता काफ्लेले जानकारी दिए।
दुर्घटनामा ज्यान गुमाउने सवारी चालक सर्लाही जिल्लाको कबिलासी गाउँपालिका- ८ निवासी ३० वर्षीय रवि शंकर कुमार मण्डल रहेको प्रहरीले जनाएको छ।


