
भोजपुरको तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र
भोजपुर । पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना पञ्चकन्या कृषि सडकअन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ । सडक कालोपत्र भएपछि वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्याबाट स्थानीयले राहत पाएका छन् ।
मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकसँग जोडिएको तिवारीभञ्याङदेखि गाउँपालिका केन्द्र च्याङ्गेसम्मको सडक कालोपत्र गरिएको हो । तिवारीभञ्याङदेखि अँधेरीघाटसम्मको ३१ किलोमिटरमध्ये हाल च्याङ्गेसम्मको करिब दुई किलोमिटर सडक कालोपत्र सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार आगामी दिनमा अँधेरीघाटसम्मकै सडक कालोपत्र गर्ने लक्ष्य छ । सडकले कृषि उत्पादनको बजारीकरण, स्थानीयको आवतजावत र आर्थिक गतिविधिमा सहजता थप्ने अपेक्षा गरिएको छ ।


