
रुसका लागि जासुसी गरेको आशङ्कामा बेलायतमा अमेरिकी सैनिक पक्राउ
लण्डन । रुसका लागि जासुसी गरेको आशङ्कामा अमेरिकी सेनाका एक सैनिक बेलायती आतङ्कवादविरोधी प्रहरीद्वारा पक्राउ परेका छन्। ती २१ वर्षीय सैनिकलाई मङ्गलबार ग्लुचेस्टर नजिकैबाट गिरफ्तार गरिएको हो।
लन्डनको आतङ्कवादविरोधी प्रहरीका अनुसार ती पुरुषलाई राष्ट्रिय सुरक्षा ऐन २०२३ को दफा १ र दफा ३ अन्तर्गत पक्राउ गरिएको छ। ऐनको दफा १ ले सुरक्षित सूचना सङ्कलन वा खुलासा गर्नेसँग सम्बन्धित विषय समेट्छ भने दफा ३ ले विदेशी गुप्तचर सेवालाई सहयोग गर्नेसँग जोडिएको छ।
यस अनुसन्धानको एक भागको रूपमा अधिकारीहरूले ग्लुचेस्टरशायरका दुईवटा स्थानमा खोजी गरिरहेका छन्। बीबीसीले बुझेअनुसार ती सैनिक ग्लुचेस्टरशायरको इन्स्वर्थस्थित इम्जिन ब्यारेक्समा कार्यरत थिए।
सो ब्यारेक्स नाटोको एलाइड र्यापिड रियाक्सन कोरको मुख्यालयको रूपमा रहँदै आएको छ जुन गठबन्धनका लागि एक रणनीतिक परिचालन आधार हो। आतङ्कवादविरोधी प्रहरीले यो घटना अन्य कुनै पनि जारी अनुसन्धानसँग सम्बन्धित नरहेको जनाएको छ।
एफबीआईका निर्देशक काश पटेलले एक विज्ञप्ति जारी गर्दै यो महत्त्वपूर्ण गिरफ्तारीमा जासुसीका आरोपहरू सामेल रहेको बताएका छन् । पटेलले भने, ‘यो महत्त्वपूर्ण गिरफ्तारीमा जासुसीका आरोपहरू सामेल छन्। यो संयुक्त राज्य अमेरिका र हाम्रा सहयोगीहरूका लागि अत्यन्तै चिन्ताको विषय हो।’


