
बार्सिलोनाले एट्लेटिकोलाई हरायो
काठमाडौं । फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडलाई २–१ ले पराजित गरेको छ। एट्लेटिकोको मैदानमा आइतबार राति भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली पराजित भएको हो।
जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ। खेलको १०औं मिनेटमा जुलियानो सिमिओनेले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। मार्कोस लोरेन्टेको उत्कृष्ट पासमा जुलियन अल्भारेजले उपलब्ध गराएको बललाई सिमिओनेले पोस्टको दिशा दिएका थिए।
पहिलो हाफमा पछि परेको बार्सिलोनाले इन्जुरी समयको ठीकअघि बराबरी गोल फर्कायो। पेड्रीको पासमा फर्मिनले उत्कृष्ट फिनिसिङ गर्दै खेल १–१ को अवस्थामा पुर्याए। दोस्रो हाफमा बार्सिलोनाले आक्रमणलाई तीव्रता दिएको थियो। लामिन यमलको पासमा फर्मिनले ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार एट्लेटिकोका गोलकिपर जान ओब्लाकले रोक्न सकेनन्।
त्यसपछि एट्लेटिकोले बराबरीका लागि प्रयास गरे पनि सफल हुन सकेन। बार्सिलोनाले पनि थप गोल गर्ने केही अवसर बनाए पनि त्यसको सदुपयोग गर्न सकेन। शीर्ष स्थानको बार्सिलोनाको ३३, दोस्रो स्थानको रियल म्याड्रिडको ३० र एट्लेटिको २८ अंक छ।
बेटिस, सोसिडाड र भिल्लारियलको जित
ला लिगाअन्तर्गत आइतबार भएका अन्य खेलमा रियल बेटिस, रियल सोसिडाड र भिल्लारियल विजयी भएका छन्। सेल्टा भिगो र लेभान्तेले भने गोलरहित बराबरी खेलेका छन्। रियल बेटिसले एल्चेलाई उसकै मैदानमा २–० गोलले पराजित गर्यो। खेलको अन्तिम समयमा रोड्रिगो रिकेल्मेले ८१औं र मार्क बार्ट्राले ८९औं मिनेटमा गोल गरे।
त्यस्तै, रियल सोसिडाडले रायो भालेकानोलाई १–० ले हरायो। ओर्री स्टिन ओस्कारसनले ६७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
भिल्लारियलले गेटाफेलाई २–० ले पराजित गर्यो। ताजोन बुकाननले ८०औं तथा कार्लोस रोमेरोले इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे। आइतबारकै अर्को खेलमा सेल्टा भिगो र लेभान्तेले गोलरहित बराबरी खेले।


